उदयपुर । ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शनिबार उदयपुर करागारबाट ८ जना कैदी बन्दीले आममाफी पाएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिस बमोजिम ५ सय १३ कैदी बन्दीहरूलाई कैद र सजाय माफी गरेकी हुन् । त्यस मध्येबाट उदयपुर कारागारबाट ८ जनाले आम माफी पाएर जेल मुक्त भएको उदयपुर कारागारका प्रमुख (जेलर) कुमार खड्काले बताए ।गृहमन्त्रालयले ५० प्रतिशत कैद सजाय भुक्तान गरेका, आचरण सुधार गरेका, नकारात्मक गतिविधिमा संलग्न नभएका, चालचलन सुधार गरेका कैदीबन्दीलाई सजाय मिनाहा गर्न मापदण्ड अनुसार उदयपुरका ८ जना आममाफी पाएका हुन् । गृहमन्त्रालयले पत्राचार गरेको मापदण्ड अनुसार उदयपुरबाट ८ जना कैदीको लागि आममाफीको लागि सिफारिस गरिएको थियो ।

आममाफी पाउनेहरुमा सवारी ज्यान सम्बन्धी मुद्दाका दुई, बहुविवाह मुद्दाका चार र चोरी मुद्दाका दुई जना रहेको कारागार प्रमुख खड्काले जानकारी दिए । उनीहरु शनिबार विहानै कारागार मुक्त भएका छन् ।

सवारी ज्यान मुद्दामा सजाय काटिरहेका लहान नगरपालिका १७ सिरहाका ३४ वर्षिय दुर्गानन्द विश्वकर्मा र त्रियुगा नगरपालिका ४ का ३२ वर्षिय हेम बहादुर विश्वकर्मा रहेका छन् ।
यस्तै बहुविवाह मुद्दामा दोषी करार भई सजाय भोग्दै आएका चौदण्डीगढी नगरपालिका १ का ३२ वर्षिय कृष्ण बहादुर नेपाली, सोही नपा ६ का ४६ हरिमान कटुवाल, त्रियुगा नगरपालिका ३ का नेत्र बहादुर खड्का र बेलका नगरपालका २ का ३२ वर्षिय राजेन्द्र योन्जन रहेका छन् ।

यस्तै चोरी मुद्दामा सजाय भोगिरहेका दमक नगरपालिका ५ झापाका ३७ वर्षिय सरोज भण्डारी र चौदण्डीगढी नगरपालिका ४ का ३६ वर्षिय नइन्द्र बहादुर बुढाथोकी पनि आममाफी पाएका छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा–२७६ बमोजिम देशभरका कारागारमा रहेका ५ सय १ जना बन्दीहरूको भुक्तान हुन बाँकी कैद सजाय मिनाहा र मन्त्रिपरिषद्को सिफारिसमा १२ जनाको सजाय माफी दिइएको छ ।

अघिल्ला वर्षहरूमा पनि प्रजातन्त्र दिवसको अवसर पारेर विभिन्न घटनामा दोषी प्रमाणित भई बन्दी जीवन बिताइरहेकाहरूलाई राष्ट्रपतिबाट आममाफी दिने गरिएको थियो ।

तपाईको प्रतिक्रिया