उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिकामा भएको टिफर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
मंगलबार अन्दाजी साँझ ६ः५० बजेको समयमा उदयपुरगढी गाउँपालिका ७ हाडेवास चिउरीवास स्थित बाधखोर–कोल्टे भित्रि सडक खण्डमा नेपालटारबाट कोल्टे तर्फ बालुवा गिट्टी बोकेर जादै गरेको पावित्रा निर्माण सेवा कम्पनीको स १ क १९० नं.को टिफर अचानक ब्रेक फेल भई दुर्घटना भएको थियो । सडकबाट अन्दाजी ४० मिटर तल खसि दुर्घटना हुँदा चालक सहित चार जना घाइते भएका थिए ।
घाइते मध्ये उदयपुरगढी गाउँपालिका ७ बस्ने १९ वर्षिय उज्वल खपाङगी टाउँको र शरीरमा चोट अवस्था गाम्भिर बोल्न नसक्ने अवस्थामा उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा राति ७ः४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए ।
यस्तै टिफर चालक कल्याणपुर २ सप्तरी बस्ने २९ वर्षिय उमेश कुमार चौधरीको टाउँकोमा चोट पटक लागेको अवस्था गम्भिर रहेको छ । उनको थप उपचारको लागि विराटनगर पठाईएको प्रहरीले जानकारी दिए ।
यस्तै उदयपुरगढी गाउँपालिका ७ बस्ने १७ वर्षिय युवराज खपाङगीको हात र खुट्टामा चोट लागेको छ भने सोही ठाउँका २४ वर्षिय भरत खपाङगी माथिल्लो ओठमा चोट दाहिने कान काटीएको अवस्था सामान्य रहेको छ । उनीहरुको जिल्ला अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिए ।









