उदयपुर । उदयपुरमा शनिबार राति भिसन आगलागी भएको छ । त्रियुगा नगरपालिका १२ ग्रीनसिटी पार्टी प्यालेस दक्षिण तर्फ बाबुराजा प्रजापतिको जग्गामा रहेको टिनको सटर भएको भुइँ तले घरमा अन्दाजी राति १ः३० बजे विद्युत सर्ट भएर आगलागी भएको छ ।

आगलागीबाट चार जनाको घरमा भएका सम्पूर्ण सामान सहित ८० लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गर्न सकिने प्रहरीले जनाएको छ ।

त्रियुगा नगरपालका १२ का मदन साहको चार वटा सटरमा रहेको किराना पसलका सामानहरु जलेर नष्ट भएको छ । किराना पसलको सामान जल्दा अन्दाजी ४० लाखको क्षति भएको प्रहरीले जनाएको छ ।

सिरहा गोलबजार घर भई बाबुराज प्रजापतिको जग्गाको सटरमा स्टिकर पसल गर्ने जनक मगरको पसल जल्दा अन्दाजी ११ लाखको क्षति भएको छ ।

यस्तै त्रियुगा नगरपालिका ८ घर भई सोही ठाउँमा मोटर पार्टस संचालन गरेका सरोज रेग्मीको पसल जल्दा अन्दाजी २५ लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

जग्गा धनी बाबुराजा प्रजापतीको एक तले टिनले छाएको भुइँ घरको ६ वटा कोठामा क्षति भई अन्दाजी ८ लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ । प्रजापति त्रियुगा नगरपालिकाका लेखाफाटका कर्मचारी हुन् ।

स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, त्रियुगा, चौदण्डीगढी नगरपालिका र रौतामाई गाउँपालिका गरी तीन वटा दमकलले आइतबार विहान ४ बजे आगो नियन्त्रणमा लिएको थियो । क्षतिको थप विवरण आउन बाँकी छ ।

 

तपाईको प्रतिक्रिया