उदयपुर । दाउराको खपत गर्दा वन विनाश बढ्ने भन्दै उदयपुरको एक सामुदायिक वनले उपभोक्तालाई एलपी ग्यास सिलिण्डर र चुलो वितरण गरेको छ । दाउरा प्रयोग गर्दा दिनदिनै वन जंगल विनाश हुँदै गएको भन्दै चौदण्डीगढी नगरपालिका ८ सालघारी सामुदायिक वन उपभोक्ता समूहका उपभोक्तालाई एलपी ग्यास सिलिण्डर वितरण गरिएको हो ।
सामुदायिक वन समूहमा आबद्ध उपभोक्तालाई ४ लाख खर्चेर ४३ घरधुरी उपभोक्तालाई एलपी ग्यासको सिलिण्डर वितरण गरेको समूहका अध्यक्ष चन्द्र कुमार राईले जानकारी दिए । समूहले आर्थिक वर्ष २०७८÷७९ को गरिवी निवारण कार्यक्रम अन्तर्गत समूहभित्र रहेका दलित, एकल महिला र विपन्न गरी ४३ घरधुरी परिवारलाई ग्यास सिलिण्डर र चुलो वितरण गरेको समूहका अध्यक्ष राईले बताए । चालु आर्थिक वर्षको कार्यक्रम अन्तर्गत १४ अतिविपन्न परिवारलाई सिरक पनि वितरण गरिएको अध्यक्ष राईले बताए ।
घरायसी प्रयोजनका लागि दाउरा बाल्न रुख काट्दा वन फँडानी हुँदै आएको भन्दै समूहले कार्ययोजना बनाएर वन विनाश रोक्न लागेको हो । खासगरी गरिव, बिपन्न, दलित र एकल महिलालाई बैकल्पिक उर्जा कार्यक्रम अन्तर्गत एलपी ग्यास सिलिण्डर र चुलो वितरण गरिएको हो ।
सामुदायिक वनको आम्दानीबाट प्रत्येक ग्यास र चुलोको साथै सिरक बितरण गरेको उपाध्यक्ष गोविन्द ओझाले बताए । उनका अनुसार उपभोक्तालाई धुवाँमुक्त बनाउने योजना पनि यसमा समेटिएको छ । सरकारले अघि सारेको ‘धुँवामुक्त अभियान’ लाई सहयोग गर्न पनि ग्यास सिलिण्डर बितरण गरिएको उपाध्यक्ष ओझाले बताए । सो सामुदायिक वनमा ३५० उपभोक्ता रहेको छ ।
डिभिजन वन कार्यालय उदयपुरका सहायक वन अधिकृत तथा सूचना अधिकारी जागेश्वर साहका अनुसार उदयपुरमा वन समूहभित्रका एक घरधुरी उपभोक्ताले वार्षिक ३० देखि ३५ भारी दाउरा खपत गर्ने गरेको तथ्यांक निस्केको छ । ‘यसरी उपभोक्ताले खपत गर्ने दाउरा भनेको वन सम्पदा मासेरै हो’ डिभिजन वन सहायक वन अधिकृत साहले भने, ‘यस्तै तरिकाले वन मासेर दाउरा उत्पादन गर्दै जाने हो भने त केही वर्षभित्रै वन सकिने निश्चित भयो, त्यसैले बिकल्पमा डिभिजन वन कार्यालय गाईघाटले ग्यास सिलिण्डर बितरणको अवधारण ल्याएका हौं ।’
‘ग्यास वितरणले वन संरक्षणसंगै दाउराको खोजीमा खर्चिनु पर्ने समय बचत भई उत्पादनशील क्षेत्रमा उपभोग गर्न सक्ने र महत्वपूर्ण कुरा भान्सालाई धुवाँ रहित बनाई दिदी बहिनीहरुको स्वास्थ्य समस्या न्यूनीकरण गर्ने अवसर समेत रहेको छ ।’ साहले भने । खाना पकाउने प्रयोग हुने दाउरा उत्पादन त्यही सामुदायिक वनक्षेत्रबाटै हुने भएकाले यसबाट वर्षेनी वन विनाश बढ्दै गएको पाएपछि रुख काट्ने काममा कमी ल्याउन ग्यास सिलिण्डर बितरण गर्ने कार्य योजना बनाउन समुदायिक वनहरुलाई आग्रह गरिएको सहायक वन अधिकृत साहको भनाई छ ।









