उदयपुर । आजबाट त्रियुगा नगरपालिकाका सवै विद्यालयहरु खुल्ने भएको छ । त्रियुगा नगरपालिकामा आइतबार बसेको नगर प्रमुख स्तरीय बैठकले आज (सोमबार) बाट सामुदायिक र संस्थागत विद्यालयहरुलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर भौतिक रुपमा पठन पाठन संचालन गर्न निर्णय गरेको छ ।

कोभिड–१९को ओमिक्रोन भेरियन्टको संक्रमण जोखिमका कारणका पुस २९ गतेको नगर प्रमुख स्तरीय बैठकको निर्णय अनुसार माघ २ गतेदेखि १५ गतेसम्म भौतिक रुपमा पठनपाठन स्थगन गर्ने निर्णय भएकोमा हाल कोरोना संक्रमण दर न्यून हुँदै गईरहेको परिस्थिति रहेकोले विद्यालयहरु संचालन गर्न निर्णय गरेको त्रियुगा नगर शिक्षा शाखा प्रमुख एक बहादुर राउतले जानकारी दिए । विद्यार्थीहरुलाई कोरोना विरुद्धको दोस्रो डोजको खोप माघ १६ गतेदेखि माघ २० गतेसम्म अभियानको रुपमा सञ्चालन हुने क्रममा रहेकोले आइतबार बसेको नगर प्रमुख स्तरीय बैठकको निर्णय अनुसार आज (सोमबार) बाट स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी गराई सूचारु गर्न निर्देशन दिने निर्णय गरेको शिक्षा शाखा प्रमुख राउतले जानकारी दिए ।

जन स्वास्थ्य सुरक्षाको मापदण्डलाई पूर्ण रुपमा पालना गरी बालबालिकाहरुलाई कोरोना विरुद्धको दोस्रो डोजको खोप लगाउने अभियानमा सहयोग, समन्वय र सहजिकरण गर्न, विद्यालय तहमा बालबालिकाहरुको पठनपाठन भौतिक रुपमा सञ्चालन गर्ने सन्दर्भमा तोकिएको मापदण्डको पूर्ण रुपमा पालना गरी विद्यालय क्षेत्र भित्रका सरोकारवालाहरुको बैठक बोलाई वि.व्य.स.ले आवश्यक परिस्थितिको विश्लेषण गरी विद्यालय खोल्ने सम्बन्धमा निर्णय गर्ने र सो को जानकारी लिखित रुपमा नगरपालिकालाई पठाउने भनि निर्णय भएको छ ।
त्रियुगा नगरपालिका अन्तर्गतका १२ हजार विद्यार्थीलाई कोरोना विरुद्धको दोस्रो डोज लगाउँदै छ ।

 

तपाईको प्रतिक्रिया