उदयपुर । उदयपुरमा खेत जोतेर घर फर्कने क्रममा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
शनिबार राति अन्दाजी ८ बजेको समयमा त्रियुगा नगरपालिका १ रुपनी स्थित खोला छेउको खेत जोतेर घर फर्कने क्रममा स १ त ४२९३ नम्बरको ट्याक्टर पल्टी दुर्घटना भएको हो ।
दुर्घटनामा सोही ठाउँका ट्याक्टर चालक ४० वर्षिय सत्य नारायण चौधरीको १० वर्षिय छोरा नितेष चौधरी गम्भिर घाइते भई उपचारको क्रममा जिल्ला अस्पतालमा करिव ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए ।
अर्का छोरा १२ वर्षिय निमिष चौधरीको बायाँ कम्मरमा र दुवै खुट्टामा चोट लागेको छ भने ट्याक्टर चालकको दाहिने हातमा चोट पटक लागेको छ । उनीहरु दुवैको जिल्ला अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । दुर्घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।









