उदयपुर । राजश्व अनुसन्धान कार्यालयले राजश्व छलीको आरोपमा उदयपुरको सदरमुकाम गाईघाटमा रहेको रुजल ज्वेलर्समा छापा मारेको छ । राजश्व अनुसन्धान कार्यालय इटहरीबाट अनुसन्धान अधिकृत विनोद पोखरेलको नेतृत्वमा आएको टोलीले त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका उपाध्यक्ष रमेश विश्वकर्माको रुजल ज्वेलर्समा छापा मारी कागजातहरु नियन्त्रणमा लिएको छ ।
रुजल ज्वेलर्सले राजश्व छली गरेको गोप्य सूचना आएपछि करिव ४ घण्टा लगाएर छापा मारेर कारोबार गरिएको आवश्यक कागजपत्र नियन्त्रणमा लिएको अनुसन्धान अधिकृत पोखरेलले बताए । अनुसन्धानमा लिइएको कागजपत्र बारे थप अनुसन्धान गरिने पोखरेलले बताए ।
रुजल ज्वेलर्सले राजश्व छली गरेको उजुरी राजश्व अनुसन्धान विभाग र प्रधानमन्त्री कार्यालयमा परेको आधारमा छापा मारिएको राजश्व अनुसन्धान कार्यालय इटहरीका सूचना अधिकारी शिव कुमार निरौलाले जानकारी दिए । उनले भने, “रुजल ज्वेलर्सले राजश्व छली गरेको उजुरी पहिले नै परेको र छानविन गर्दा राजश्व छली गरेको आशंका देखिएपछि सुनचाँदी पसलमा छापा मारेका हौं ।” पसलको खातापाता लिएर आएको छ र यस विषयमा अनुसन्धान हुने सूचना अधिकारी निरौलाले जानकारी दिए ।
गाईघाटका सुनचाँदी पसल आधा दिनमै बन्द
राजश्व अनुसन्धान कार्यालय इटहरीले सोमबार त्रियुगा उद्योग वाणिज्य संघका उपाध्यक्ष रमेश विश्वकर्माको सुनचाँदी पसलमा छापा मारेपछि गाईघाट लगायत आसपासका सुनचाँदी व्यापारी पसल बन्द गरेर भागेका थिए ।
सोमबार विहान १० बजेको समयमा रुजल ज्वेलर्समा छापा मारेपछि गाईघाटका अरु सुनचाँदी पसलहरु धमाधम बन्द गरेर भागेका हुन् ।
उदयपुरमा सुनचाँदी व्यवसायी महासंघ दुई वटा रहेको छ । सगरमाथा सुनचाँदी व्यवसायी संघमा २१ जना व्यवसायी आवद्ध रहेका छन भने उदयपुर सुनचाँदी व्यवसायी संघमा १०१ जना व्यवसायी आवद्ध रहेका छन् । त्रियुगा नगरपालिकामा करिव ७५ बढी सुनचाँदी पसल सन्चालनमा छन् ।
सगरमाथा सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा पृथ्वी ज्वेलर्सका संचालक पृथ्वी विश्वकर्माले आफ्नो पसल १० बजेसम्म खुल्ला रहेपनि नेकपा एमालेको सगरमाथा सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा पृथ्वी ज्वेलर्सका संचालक पृथ्वी विश्वकर्माले आफ्नो पसल १० बजेसम्म खुल्ला रहेपनि नेकपा एमालेको नेपाल उत्पीडित जातीय मुक्ति समाज बेलका नगरको कार्यक्रममा आएकोले बन्द गर्नु परेको बताए ।
अर्का उदयपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष गजेन्द्र बराइलीको विष्णु ज्वेलर्स पनि आधा दिनमै अगावै पसल बन्द गरेका थिए । रुजल ज्वेलर्समा छापा मारिरहेकोले आफुहरुको पसलमा पनि छापा मार्छ कि भन्ने डरले बन्द गर्नु परेको र अरु पसलहरुले पनि त्यहि सोचेर बन्द गरेको अध्यक्ष बराइलीले बताए ।









