उदयपुर । नेपालमा विवाहित महिला तथा पुरुषले दोस्रोपटक विवाह गरे वहुविवाहमा कार्वाही हुने कानुन छ । मुलुकी फौजदारी संहिता २०७४ अनुसार दोस्रो पटक गरे कानुनी कार्वाही सहित विवाह वदर गरिन्छ तर जिल्ला प्रहरी कार्यालय उदयपुरले नै एक दम्पतीको पुर्नविवाह गरिदिएको छ । विवाह एक साता अघिको भएको हो ।

प्रहरी कार्यालय भित्र नै दोस्रो पटक विवाह गर्ने भाग्यमानी जोडी हुन् रौतामाई गाउँपालिका ७ का गणेश खड्का र पूर्णमाया तामाङ खड्का ।
चार सन्तानको बाबु खड्काले श्रीमती पूर्णमायालाई रक्सि खाएर दिन दिनै याताना दिन्थे । सधै पतिको यातनाबाट पीडित पूर्णमाया स्थानीय संस्थाको सहयोगमा महिला सुरक्षा बासमा शरणमा बस्न थालिन । केही दिन अघिदेखि गाईघाट स्थित सुरक्षा बासमा श्रीमती बस्न थालेपछि उता श्रीमानलाई छटपटी भयो । पति गणेश खड्काले रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र बहादुर खड्कालाई श्रीमती फिर्ता ल्याईदिन सहयोग मागे । पालिका अध्यक्ष खड्काले जिल्ला प्रहरी कार्यालयमा गएर कुरा गर्ने भनेर पति सगै आएपछि पति पत्नीविच अव देखि झगडा नगर्ने, मिलेर बस्ने भनि सहमति भयो ।

पालिका अध्यक्ष गजेन्द्र खड्काको रोहबरमा भएको छलफलमा श्रीमान श्रीमतीलाई पुनः झगडा नगर्ने शर्तमा पुर्नविवाह गराईदिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार खड्काले अन्तरजातिय विवाह गरेकाले घरपरिवारमा पहिले देखि नै समस्या रहेछ, अहिले त झन पत्नीले घर नै छाडेर हिड्ने अवस्था श्रृजना भएछ ।

घरेलु हिंसा भएको केश भएकाले दुवै पक्षलाई राखेर छलफल गरेर अव उप्रान्त श्रीमतीलाई कुटपीट नगर्ने शर्तमा मेलमिलाप गराएर पठाएका हौ, डिएसपी वेद गौतमले भने ।

डिएसपी गौतमका अनुसार श्रीमान श्रीमतीलाई पालिका अध्यक्षको रोहवरमा मिलापत्र कागज गराई जिल्ला प्रहरी कार्यालयको हाता भित्र रहेको मन्दिरमा सधै बस्ने कसम खुवाएर पठाएका हौ । ‘श्रीमान राष्ट्रिय जडियाँ रहेछ, उसलाई जाँड छाड्ने कि, श्रीमती छाड्ने भनेर, सोध्दा उसले जाँड छाड्छु भनेपछि श्रीमती पनि खुसी भईन् र मिलापत्र भयो ।’ गौतमले भने ।

मन्दिर परिक्रमा गरी सकेसगै हात समातेर पतिले पत्नीलाई समातेर जिल्ला प्रहरी कार्यालयको गेट बाहिर गएको दृष्य झन रोचक थियो ।
अब फेरी श्रीमतीलाई कुटपिट गरे कानुनी कार्वाही गर्ने भनेर मिलापत्र कागज गरेर घर पठाएको प्रहरीले जनाएको छ ।

घरेलु हिंसा तथा कसुर सजाय ऐन २०६६ को दफा ४ को उपदफा ८ मा पीडितले चाहेमा प्रहरी तथा स्थानीय तहले उजुरी परेका ३० दिन भित्र मिलापत्र गराईदिनु पर्ने व्यवस्था छ ।

घरेलु हिंसा तथा कसुर सजाय ऐनले दिएको जिम्मेवारी अनुसार पीडितको मन्जुरीमा दुवै पक्षलाई मिलाएर पठाएको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया