उदयपुर । उदयपुर प्रहरीले सुनका गहना सफा गरी दिने बाहानामा ठगी गरेको आरोपमा दुई जना भारतीयलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत बिहार सहरसा बस्ने वर्ष ४५ को अरुण साह र बिहार सुपौल बस्ने वर्ष ३० को हरिराम साह रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
पक्राउ परेका भारतीयहरुले त्रियुगा नगरपालिका वडा नं. ४ बगाहामा स्थानीय ताराबहादुर राईको घरमा गई सुन सफा गरिदिने बाहानामा केमिकल प्रयोग गरि सुनको परिणाम घटाउने गरेकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेद गौतमले बताए ।
‘उनीहरुले उदयपुरको त्रियुगा नगरपालिकाभित्रका विभिन्न गाउँबस्तीमा मैलो भएका सुनका गहनालाई धोएर नयाँ बनाउने भन्दै सर्वसाधारणलाई ठग्दै हिँडेका थिए ।’ सूचना अधिकारी समेत रहेका डिएसपी गौतमले भने ‘पछिल्लो समय दुबै मिलेर त्रियुगा नगरपालिका ४, बगाहाका ताराबहादुर राईको छोरी कमल राईलाई ठगी गरेको उजुरी परेपछि खोजतलास गर्दा दुई भारतीय पक्राउ गरिएको हो ।’
ठगीमा संलग्न साहद्वयले कात्तिक ११ गते राईको मैलो भएको एक तोला सुनको सिक्री चम्काउँदा आधा तोला सुन गायब बनाएका थिए ।
उनीहरुले विभिन्न केमिकल प्रयोग गरी सुनको केही तौल तरल पदार्थको रुपमा झिक्ने र त्यसलाई फेरि प्रशोधन गरेपछि सुन धोएको पानीमा रहेको तरल सुन फेरि सुनको ढिक्कामा परिणत हुने गरेको पाइएको हो ।
अभियुक्त भारतीयहरुले सुन सफा गरेपछि सुक्न दिनुपर्ने भन्दै सुकाएको बेलामा हेर्न हुन्न भनेर स्थानीयलाई गहना हेर्न नहुने भन्ने गरेर आफू अर्काे स्थानमा जाने गरेका थिए । उनीहरुले सुन धोएबापतको रकम पनि मनलाग्दी असुल्ने गरेको खुल्न आएको डिएसपी गौतमको भनाई छ ।
बगाहामा राई परिवारलाई ठगी गरेको तीन दिनपछि दुबै जना त्रियुगा नगरपालिका ११ बाट पक्राउ परेका हुन् । प्रहरीले उनीहरुबाट सुन चम्काउने पीताम्बर, एसिड, मट्टितेल, सुनका ससाना टुक्रा र तरल सुन थाप्न प्रयोग गरिएका भाँडा प्लेटलगायतका अन्य आवश्यक औंजारहरु पनि बरामद गरेको छ ।
प्रहरीले दुबैलाई ठगी मुद्दाको आरोपमा थप अनुसन्धान गर्न उदयपुर जिल्ला अदालतबाट ठगी सम्बन्धी कसुरमा १० दिनको म्याद थप गरि अनुसन्धान सुरु गरेको जनाएको छ ।
गहना सफा गर्ने नाममा ठगी गर्ने समूहमा अन्य पनि हुन सक्ने भएकाले अपरिचतलाई गहना नदिन मिडिया मार्फत आग्रह गरेको छ । डिएसपी गौतमले भने–‘उनीहरुले उदयपुरका अन्य स्थानमा समेत यसरी नै सुन चम्काउने नाममा सुन ठगी गरेको हुन सक्ने भन्दै पीडितहरुलाई उजुरी गर्न अनुरोध गर्दछु ।’









