उदयपुर । देशभरिका बालबालिकालाई यही कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ । ६ महिनादेखि ५९ महिनाका करिब ३२ हजार उदयपुरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने लक्ष्य रहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५९ महिना उमेरसमूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन थालिएको हो । सधैं कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकामा दसैं परेकाले कात्तिक ७ र ८ गते खुवाउने कार्यक्रम भएको हो ।भिटामिन ‘ए’ ६ महिनादेखि ११ महिनासम्मका बालबालिकालाई एक लाख युनिट र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई दुई लाख युनिट खुवाइने छ । सोही अवसरमा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधिसमेत खुवाई रहेको जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत उमेश लुइटेलले जानकारी दिए ।

२०० मिलिग्राम एकदेखि दुई वर्षका बालबालिकालाई र ४०० मिलिग्राम दुईदेखि पाँच वर्षसम्मका बालबालिकालाई अल्वेन्डाजोल (जुका)को औषधि खुवाइने छ ।

उदयपुरमा ३१ हजार ९ सय ५५ जना बालबालिकाले भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ ।

बेलका नगरपालिकामा ३ हजार ९ सय ६७ बालबालिका, चौदण्डीगढी नगरपालिकमा ४ हजार पाँच सय ३१ बालबालिका, त्रियुगा नगरपालिकामा ८ हजार ८३ बालबालिका र कटारी नगरपालिकामा ६ हजार एक सय ९२ बालबालिकाले भिटामिन ए र जुवाको औषधि खाने लक्ष्य रहेको छ ।

रौतामाई गाउँपालिकामा २ हजार ६ सय ८२ बालबालिका, लिम्चुङबुङ गाउँपालिकामा एक हजार ३ सय ३४ बालबालिका, ताप्ली गाउँपालिकामा एक हजार छ सय ६४ बालबालिका र उदयपुरगढी गाउँपालिकामा तीन हजार आठ सय दुई बालबालिकाले भिटामिन ए र जुकाको औषधि खानेछन् ।

भिटामिन ए र जुवाको औषधिको लागि महिला स्वम सेविका र स्वास्थ्यकर्मी परिचालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी चिरन्जिवी निरौलाले जानकारी दिए ।

भिटामिन ‘ए’ खुवाउन लैजाँदा अभिभावकलाई कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिएको त्रियुगा नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक अवध नारायण चौधरीले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया