उदयपुर । उदयपुर जिल्ला आफैमा प्राकृतिक भौगोलिक तथा सांस्कृतिक विविधताले भरिपुर्ण भएको ठाँउ हो । भित्री मधेस अन्तर्गत पर्ने जिल्लामा उच्च गर्मी हुने तराईको महाभारत पर्वत शृङ्खलादेखि बाह्रै महिना चिसो हुने अग्ला–अग्ला टाकुरा रहेका विविध ठाउँहरु छन् ।
जिल्लाका ८ वटै स्थानीय तहहरुमा पर्यटकलाई आकर्षित गर्ने फरक–फरक किसिमका गन्तब्यहरु रहेका छन । जिल्लाका सबै स्थानीय सरकारहरु भ्रमण वर्ष २०२० सफल पार्न आफ्नो ठाउँमा पर्यटकहरु बढि भन्दा बढि ल्याउँन लागि परेका छन ।

उदयपुरगढी दरवार
नेपाल सरकारले घुम्न लायक १०० औं पर्यटकीय गन्तव्यको रुपमा घोषणा गरेको उदयपुरगढी दरवार तत्कालीन उदयसेन राजाले राज गरेको यो गढीमा अहिले पनि पुरातात्विक महत्व बोकेका पुराना सम्पदा रहेका छन् । जसको नामबाटै उदयपुर जिल्ला तथा उदयपुरगढी गाउँपालिका नाम राखिएको हो । यो ठाउँ उदयपुर जिल्लाको पुरानो सदरमुकाम पनि हो । जहाँबाट भौगोलिक विकटताका कारण वि.स. २०२८ सालमा यो ठाउँबाट सदरमुकाम गाईघाटमा सारिएको हो ।

अर्जुन डहर

चारै तिर जंगलले घेरिएको विचमा ठुलो पोखरी देखिने उदयपुरको ‘अर्जुन डहर पार्क पछिल्लो समय आन्तरिक पर्यटकिय गन्तव्य केन्द्र बनेको छ । मदन भण्डारी लोकमार्गदेखि दुई किलोमिटर पश्चिम उदयपुरगढी गाउँपालिका ७ अधेँरीस्थित विश्व कञ्चन सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा पर्ने पार्कमा पर्यटक आकर्षित गर्ने संरचना निर्माणसँगै आन्तरिक पर्यटक ह्वात्तै बढेका हुन् ।

झट्ट हेर्दा फेवाताल जस्तै देखिने पोखरीमा बोटिङको मज्जासँगै माछासमेत हेर्न पाईन्छ । दाँया बायाँका भागमा फुलहरु रोपेर रमणीय बनाइएको छ भने टिकट घर समेत निर्माण गरिएको छ । पार्क नजिक अधेरीँ झर्ना रहेको छ । झण्डै चार किलोमिटर पर मदनभण्डारी लोकमार्गसँगै जोडिएको झर्नाले थप मनोरम दिने गरेको बस्नेतले बताए । झर्ना हेर्न र नुहाउन मात्रै दैनिक एक हजारको संख्यामा आन्तरिक पर्यटक आउने गरेको उनले बताए ।

रौता पोखरी
रौतामाई गाउँपालिकामा पर्ने धार्मिक आस्थाको केन्द्र बोकेको रौतापोखरीको दर्शनका लागि उदयपुर, सिरहा, सप्तरी, सुनसरी, विराटनगर, जनकपुर, सिन्धुली लगायत छिमेकी मुलुक भारतबाट समेत दर्शनार्थी आउने गरेको स्थानीय प्रलाद कटुवालले ले जानकारी दिए । बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने रौतापोखरी बाट ढकमक्क फूलहरु फूलेकोे र चारैतिर हरियाली वनजंगल देख्न सकिने भएकाले घुम्न आउँने पर्यटकहरुको मन लोभ्याउँछ । खानाका लागि पर्यटकहरुलाई ‘स्थानीय उत्पादन कोदो, मकै, फापरको ढिँडो, धान, सिस्नु, साग, लोकल कुखुरा, दाल, गुन्द्रुकको अचारजस्ता परिकार पाइन्छ ।’

ताप्ली पोखरी 


प्राकृतिक सौन्दर्यले सिँगारिएको तथा धार्मिक महत्व बोकेको ताप्ली पोखरी ताप्ली गाउँपालिका २ मा अवस्थित छ । यो पोखरी कटारी नगरपालिकाबाट कच्ची बाटो हुँदै ४–५ घण्टाको यात्रामा पुगिने उत्तरको डाँडा ताप्ली पोखरी भने रानी पोखरीको नामले प्रख्यात रहेको छ । यो पोखरीले प्राकृतिक सुन्दरता, धार्मिक गाथा एवं पर्यटकीय महत्वलाई समेटेको छ ।समुन्द्री सतहबाट १ हजार ८ सय मिटर उचाइमा रहे पनि यो पोखरीमा वर्षैभरि पानी जमिरहन्छ । यो पोखरी हेर्न विभिन्न स्थानबाट पर्यटकहरू आउने गरेका छन् । पोखरीबाट उत्तरमा सगरमाथासम्मका हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । यसैगरी हरियो चउरले भरिएका थुमहरूका कारण पर्यटकहरू रोमाञ्चित हुन्छन् । बाह्रै महिना चिसो हुने यो पोखरीमा पर्यटकहरू गर्मी छल्न पनि पुग्छन् ।

बेलदोभान झर्ना

रौतामाईसँग भूगोल जोडिएको त्रियुगा नगरपालिकाको अर्को पर्यटकीय सम्भावना बोकेको स्थल वडा नम्बर १६ को बेलदोभान झर्ना पनि एक हो । यहाँ ठूलो झर्ना रहेको छ । यसका साथै बागनङ्ग्रे गुफा पनि एक हो । त्रियुगा नगरपालिका १ स्थित परेवा खोप पनि एक पर्यटकिय स्थान हो । दशै तिहारमा घुम्नै पर्ने पर्यटकीय स्थानमध्ये पर्दछ ।

श्रमिक पार्क

उदयपुरको सदरमुकाम गाईघाटमा स्रस्टा स्मारक, श्रमिक पार्क, ज्ञानविज्ञान कुञ्ज, भगवती पर्यटन क्षेत्र आदिको नामले प्रचलित पार्कमा विभिन्न देवदवताको मुर्तिका साथै नेपाली जनजिवन झल्कने मुर्तिहरु छन् । पार्कको बिचमा गौतम बुद्धको श्रमिक रुप झल्कने मुर्ति राखिएकोछ । श्रमिक पार्कको रुपमा त्यस पार्कलाई चिनाउने प्रयत्न गरिएको भएपनि, पार्कको निर्माण सम्पन्न भएको छैन । पार्कको काम हुँदा हुँदै विविध कारणले, पार्कको काम रोकिएको रहेछ । तर पनि गाईघाट पुगियो भने, एक पटक श्रमिक पार्क चाँहि जानै पर्ने ठाउँ रहेछ ! पार्कमा पुग्नुपर्ने अर्को कारण भनेको, त्यहाँबाट गाईघाट बजार पुरै देख्न सकिन्छ ।

सिसाघारी सिमसार

कटारी नगरपालिका– ५ मा रहेको सिसाघारी सिमसार संरक्षण पर्या पर्यटन (इको टुरिजम) क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको लागि आर्कषणको केन्द्र हो । करिब २.१ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सिमसार क्षेत्रमा २० फिट गहिराई पानी रहेको छ । वरिपरी मनमोहक दृश्य हेर्न र वोटिङ्ग, पिकनिक स्पोर्ट लगायतका क्षेत्र रहेका छन् ।

बेतेनी भञ्ज्याङ

कटारी नगरपालिकामा पर्ने बेतेनी भञ्ज्याङ् पनि पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा पर्दै आएको छ। एकैछिनमा घाम लाग्ने र केही क्षणमा हुँस्सु लाग्ने र अग्लो डाडाँ अनि चारैतिर हरियाली छिनछिनमा हुने मौसम परिवर्तन बेतेनी भञ्ज्याङ्को मुख्य बिशेषताको रूपमा रहेको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए ।

लिम्चुङबुङ एभरेस्ट भ्युटप

लिम्चुङबुङ गाउँपालिकामा रहेको एभरेस्ट भ्युटपबाट विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत अग्ला ८ वटा हिमालहरुको दृश्यावलोकन आँखै अगाडिबाट गर्न सकिन्छ । साथै उक्त ठाउँबाट हिमाल, पहाड र तराईका विभिन्न ठाउँहरुको समेत दृश्यावलोकन गर्न सकिन्छ । यसका साथै लिम्चुङबुङमा मनमोहक झरना र सांस्कृतिक विविधता समेत रहेको गाउँपालिकाका अध्यक्ष मेजर राईले बताए ।

चौदण्डीगढी दरवार

चौदण्डीगढी उदयपुर जिल्लाको मात्र नभई नेपालकै प्रमुख ऐतिहासिक तथा पुरातात्विक स्थल मानिन्छ । उत्तरमा दुधकोसी नदी र दक्षिणमा चुरे पहाड रहेको छ । गढी तत्कालीन सेन बंशीय राज्यको राजधानी समेत हो ।

विक्रम संवत १७९० देखि जगत सेन, बिक्रम सेन, हरि सेन लगायतका चार पुस्ताले चौदण्डीगढी दरवारमा राज्य चलाएको नेपालको इतिहासमा उल्लेख छ । सदरमुकाम गाईघाटबाट २७ किलोमिटर पूर्वि पहाडी क्षेत्रमा पर्ने चौदण्डीगढीमा पुरातात्विक महत्व बोकेका देवी देवताका मुर्ती, ढुङ्गाका सामाग्रीहरु रहेका छन ।

समग्र नगरपालिकको नामाकरणसँग जोडिएको यो स्थान नेपालकै एक महत्वपूर्ण ऐतिहासिक र पर्यटकीय स्थल बन्ने प्रचुर सम्भावना रहेको नगरप्रमुख खगेन्द्र राईले जानकारी दिए ।

बेलकामा घुम्नु पर्ने गन्तव्यहरु

बेलका नगरपालिकामा पर्यटकले सुन्दर पर्यटकीय स्थलको अवलोकनसँगै प्याराग्लाइडिङ, सप्तकोशीमा क्याम्पफायर, याफ्टिङको मजा लिन सक्ने बेलका नगरपालिका ९ का वडाध्यक्ष तथा प्रवक्ता मोहन घिमिरेले जानकारी दिए ।नगरको अन्य पर्यटकिय क्षेत्रहरुमा कोलोहाङ र वासिराङ झर्ना, वासिराङ दह, भूतिया तह, बालबाटिका बगैंचा, टंकेला गुफा, बेलका हाइट, महांकाल मन्दिर, कोशी टप्पु, सप्तकोशी नदी, ऐतिहासिक मैनाराजा मैनारानी यस्तै बेलकाराजा बेलकारानी, सुनखानी सुगाचरि भिर, सितारानी भिर, भौडा देवि मन्दिर आदि नगरपालिकाको पर्यटकीय स्थल रहेको बेलका नगरपालिकाका, पर्यटन विकास समितिका अध्यक्ष रमन भट्टराइले जानकारी दिए ।यसका साथै जिल्लाकै सबैभन्दा अग्लो चित्रेथानडाडाँ, लगातका पर्यटकीय स्थलहरु रहेका छन् । दशैं तिहारमा घुम्नै पर्ने उदयपुरको पर्यटकिय स्तलहरु हुन् । यसले उदयपुरको जिल्लाको विकास निर्माणमा टेवा पुग्ने हुन्छ ।

तपाईको प्रतिक्रिया