गाईघाट । औषधी व्यवसायीहरुको विरुद्ध परेको उजुरी छानविन साथै बजार अनुगमन गर्न आएको औषधी व्यवस्था विभागको टोली सम्बन्धित फार्मेसी नै नपुगी फर्केको छ ।
विभागको विराटनगर स्थित कार्यालयबाट खटी आएका टोली उजुरीमा उल्लेखित गाईघाटका फार्मेसीहरुमा नपुगी विराटनगर फर्केको हो ।
स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा उदयपुरका तिन फार्मेसी विरुद्ध अनियमित कार्य गरेको भनि गृह मन्त्रालयमा उजुरी परेपछि विभागबाट छानविन गर्न फार्मेसी अधिकृतलाई उदयपुर खटाएको थियो ।

जिल्ला प्रशासन कार्यालय उदयपुरले उजुरी छानविन गर्न अनुरोध गरेपछि विभागको विराटनगर कार्यालयले फार्मेसी अधिकृत रही विक्रम थापा र फार्मेसी सुपरभाईजर ब्रिन्जेस अधिकारीलाई उदयपुरको उजुरी परेका फार्मेसीको छानविन र अन्य फार्मेसीहरुको अनुगमन गर्न खटाएको थियो ।

मंगलबार गाईघाट आईपुगेको टोलीले बुधबार कटारी बजार स्थित उजुरीमा रहेको फार्मेसीको अनुगमन गरी काजगपत्र जफत गरेको छ भने मापदण्ड विपरीत संचालित अन्य फार्मेसी सील समेत गर्नु सफल भयो । तर उजुरीमा रहेका गाईघाटका फार्मेसीमा भने पुग्दै नपुगी टोली विराटनगर फर्केको छ ।

जलजलेको पोलिक्लिक र गाईघाटको एक फार्मेसीको अनुगमन गर्न निस्केका हौ, तर हामी आएको थाहा पाएपछि फार्मेसी संचालकहरुले पसल बन्द गरेर भागेकाले अनुगमन गर्न नसकेको फार्मेसी अधिकृत रही विक्रम थापाले बताए ।

केन्द्रबाट नै फार्मेसीको नाम सहित उजुरी आएकाले हामीले विभागको टोली बोलाएर छानविन गरेका छौ उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले बताए । ‘विभागको टोली सँग स्वास्थ्य कार्यालय, जिल्ला प्रशासन नेपाल प्रहरीको टोली खटाएको हो, कुन कुन ठाउमा अनुगमन भयो म कार्यालय बाहिर भएकाले थाहा भएन ।’ सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले भने ‘जहासम्म उजुरी परेका स्थानमा नपुगेको कुरा छ, विभागको टोलीको हातमा लिष्ट दिएको हो, किन जानु भएन उहाँहरुले नै जान्ने कुरा हो ।’

औषधी व्यवस्था विभाग र स्वास्थ्य कार्यालय उदयपुरले प्रतिवेदन दिएपछि उजुरी छानविन भयो भएन भन्ने थाहा हुन्छ, भन्दै पोखरेलले अहिले उजुरीमा उल्लेखित फार्मेसीमा नपुगेको पुनः विभागको टोली झिकाएर अनुगमन गरिने बताए ।

औषधी पसलहरुको अनुगमन, दण्ड र जरिवान औषधी व्यवस्था विभागले मात्र गर्न सक्ने कानुनी व्यवस्था रहेकाले विभागको टोली मगाउनु परेको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।

औषधी ऐन २०३५ को दफा १७ को उपदफा २ ले भनेको छ, ‘औषधी चिकित्सकको आदेश बमोजिम विक्रि–वितरण गर्दा फर्मासिस्ट वा फार्मेसी सहायक वा व्यवसायी आफैले गर्नु पर्नेछ र फर्मासिस्ट वा फार्मेसी सहायक वा व्यवसायी बाहेक अरुले त्यस्तो औषधि बिक्रि वितरण गर्दा फर्मासिस्ट वा फार्मेसी सहायक वा व्यवसायीको उपस्थिति अनिवार्य हुनेछ ।’ औषधीको विक्रीवितरण गर्दा फर्मासिस्टको अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था गरेको छ । तर, उदयपुरको सदरमुकाम गाईघाटमा फार्मेसीको लाइसेन्स भाडामा लिएर औषधि पसलहरु छ्याप छ्याप्ती खुल्ने क्रममा रहेको छ ।

तपाईको प्रतिक्रिया