उदयपुर । “मेरो गणना, मेरो सहभागिता” मुलनारा सहित १२ औं राष्ट्रिय जनगणना २०७८ को कार्यक्रम देशैभर भदौं बुधबारबाट शुरु भएको छ । देशैभर शुरु भएसँगै उदयपुरमा पनि राष्ट्रिय जनगणना शुरु गरेको हो ।

उदयपुरको त्रियुगा नगरपालिका गाईघाट, कटारी नगरपालिकाका कटारी, रौतामाई गाउँपालिका मुर्कुची र चौदण्डीगढी नगरपालिका बेल्टारमा स्थानीय जनगणना कार्यालय स्थापना गरि राष्ट्रिय जनगणनाको काम शुरु गरिएको जिल्ला जनगणना कार्यालय उदयपुरका प्रमुख शिवनारायण महतोले जानकारी दिए । उनका अनुसार कोभिड १९ को कारणले रोकिएको जनगणना मन्त्रिपरिषदको भदौं २१ गतेको निर्णय बमोजिम भदौं ३० गतेबाट जनगणना शुरु गरिएको छ । जनगणना मंसिर भित्र सम्पन्न गर्ने गरी शुरु गरिएको प्रमुख महतोले जानकारी दिए ।

जिल्लामा १०७ सुपरिवेक्षकहरु नियुक्ति गरी तालिम सहित मंगलबारबाट आवश्यक सामान तथा सामग्रीसहित फिल्डमा खटाईएको उनले बताए । फिल्डमा खटाइएको सुपरिवेक्षकहरुले पहिलो चरणमा भदौ ३० देखि असोज १८ गतेसम्म प्रत्येक घरमा गई २० वटा प्रश्नावली भएका घर तथा घरपरिवार सुचिकरण फारम भर्ने र दोस्रो चरणमा गणक नियुक्ति गरी कात्तिक २५ देखि मंसिर ९ गतेसम्म ८० वटा प्रश्नावली भएका मुख्य प्रश्नवलीका आधारमा मुख्यगणना कार्य सम्पन्न गर्ने जनगणना प्रमुख महतोले जानकारी दिए ।

जनगणनाका लागि त्रियुगा नपामा ३० जना, बेलका नपामा १४ जना, चौदण्डीगढी नपामा १७ जना, कटारी नपामा १९ जना, ताप्ली गाउँपालिकामा ५ जना, रौतामाई गाउँपालिकामा ७ जना, उदयपुरगढी गाउँपालिकामा १० जना, लिम्चुङबुङ गाउँपालिकामा ४ जना र कोशी टप्पुमा १ जना गरी १०७ सुपरिवेक्षक खटाइएको प्रमुख महतोले जानकारी दिए ।

पहिलो पटक पुरुष र महिला बाहेक तेस्रो लिङ्गियको गणना गरिने कार्यालय प्रमुख महतोले जानकारी दिए ।

जनगणनाले तल्लो प्रशासनिक तहसम्म कै जनसंख्याको आकार, प्रकार तथा संरचना दिन सक्ने हुन्छ । यस्ता तथ्याङ्कहरूका आधारमा राज्यले आम नागरिकहरूको हितहुने गरी आवश्यक नीति, योजना तथा कार्यक्रमहरू तय गर्न सक्ने हुन्छ र बनेका कार्यक्रमहरूको पनि अनुगमन र मूल्याङ्कन गर्न सक्ने हुन्छ । समग्रमा विभिन्न जाति, भाषा, धर्म, क्षेत्र, वर्ग, लिङ्ग तथा उमेर समूहका हामी कतिछौ ? कहाँ छौ ? र कुन अवस्थामा छौ ? हाम्रा जनसांखिक, सामाजिक, आर्थिक तथा लैङ्गिक अवस्था कस्तो छ ? भन्ने बारेमा तल्लो प्रशासनिक तहसम्म कै तथ्याङ्क उपलब्ध गराउनु जनगणनाको प्रमुख उद्देश्य हो ।

 

तपाईको प्रतिक्रिया