उदयपुर । केही दिनदेखिको अविरल वर्षापछि सप्तकोशी नदीमा आएको बाढीले उदयपुरको बेलकातर्फ कटान शुरु गरेको छ । आइतबार साँझसम्म सप्तकोशीले निर्धारित धार भन्दा १५० मिटर कटान गरिसकेको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।
खतराको संकेत देखिएपछि सम्भावित क्षेत्रमा बाँध निर्माण गर्न शुरु गरिएको छ, त्यस क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरका निमित्त प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले जानकारी दिए ।

कोशीले लगातार पश्चिमतर्फ कटान गर्न थालेपछि उदयपुरको बेलका नगरपालिका नदी किनार आसपासका वासिन्दा त्रसित बनेका छन् । स्थानीय शिक्षक दमनकुमार कटुवालका अनुसार अब १५ मिटर मात्रै कटान गरेमा सप्तकोशीको धार परिवर्तन हुन्छ । सप्तकोशीले धार परिवर्तन गरी पश्चिततिर लागे बेलका नगरपालिकाको वडा नम्बर २, ३, ९ र ८ का नदी तटका अधिकांश क्षेत्रहरु डुवानमा पर्नेछन् । यो क्षेत्रमा ठूलो मानव वस्ती छ । सप्तकोशीले धार परिवर्तन गर्ने खतरा देखिएपछि जिल्ला प्रशासन कार्यालय उदयपुरले विपद व्यवस्थापन समितिको आइतबार बेलका नगरपालिकामा आपतकालीन बैठक बोलाएर तटीय क्षेत्रका वासिन्दालाई सतर्क गराउने निर्णय गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी पोख्रेलको अध्यक्षतामा बसेको बैठकले कटान भईरहेको क्षेत्रमा तत्काल अस्थायी तटबन्ध निर्माण गर्ने निर्णय पनि गरेको छ ।
आइतबार नै ८ हजार बोरा बालुवा र ५० थान जालीको तटबन्ध बनाउन शुरु गरिएको छ । सप्तकोशीले धार परिवर्तन गरे उदयपुरको बेलकासँगै सप्तरीको सप्तकोशी र कञ्चनरुप नगरपालिकाका पूर्वी क्षेत्रका वस्ती समेत जोखिममा पर्नेछन ।
अहिले सप्तकोशीको तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन आग्रह गर्दै माइकिङ गरिएको छ । सप्तकोशी आसपासका करिव २५ सय परिवार नदीको उच्च जोखिममा रहेको बेलका नगरपालिकाका उपमेयर राजकुमारी चौधरीले बताईन् । सप्तकोशीको बाढीले सोबारे, डुम्रीबोटे, मसान घाट, धौरी टप्पु, चिलिमे, एविसी टापु, श्रीलंका टापु र रामनगर लगायतका ठाउँ उच्च जोखिममा रहेको उपमेयर चौधरीले बताईन् ।

तपाईको प्रतिक्रिया