उदयपुर । उदयपुरमा शनिवार साँझ भएको मोटरसाईकल दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी त्रियुगा नगरपालिका ३ का ३२ बर्षिय शान्ति राम राईको मृत्यु भएको हो ।
गाईघाटबाट घर तर्फ आउँदै गरेको प्रदेश १–०५–००१ प ३७१४ नम्बरको राई सवार मोटरसाईकल त्रियुगा पुल नजिकै लच्काको पोलमा ठोक्किदा दुर्घटना हुन पुगेको थियो । दुर्घटनामा परी घाईते राईको उपचारका लागि जिल्ला हस्पिटल पुराए पनि साढे ६ बजे डाक्टरले मृत घोषणा गरेका थिए । घाईते राईलाई दुर्घटना स्थलबाट तत्कालै प्रहरी र स्थानीयको सहयोगमा हस्पिटल पुर्याएको थियो ।
त्रियुगा नगरपालिका ३ का स्थानीय मनोज चौधरीका अनुसार म पनि घर तर्फ आउँदै थिए डिएम गेट नजिकै अत्याधिक गतिमा मोटर साइकल चलाएको देखेर आफै साइड लाग्नु परेको बताए । एक मिनेट नपुग्दै दुर्घटना भएको देखेको प्रत्यक्षदर्शी चौधरीले बताए । दुर्घटनाको कारण मादक पदार्थ सेवन गरी सवारी चलाएकाले नियन्त्रण बाहिर जाँदा घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।









