उदयपुर । उदयपुरमा बहुविवाह मुद्धामा फरार वडा सदस्य पक्राउ परेको छ । २०७७ बैशाख ११ मा बहुविवाह मुद्धा दर्ता भएका प्रतिवादी चौदण्डीगढी नगरपालिका ७ का ४९ वर्षिय वडा सदस्य हरिमान कट्वाल पक्राउ परेको छ । उनीसँगै चौदण्डीगढी नगरपालिका ९ की ३८ वर्षिय रमा कोइराला पनि पक्राउ परेको छ । उनीहरुलाई काठमाडौं थानकोटमा लुकिछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिवादी वडा सदस्य कट्वाललाई जिल्ला अदालत उदयपुरको आदेशले पुर्पक्षको लागि कारागार चलान गरेको छ । वडा सदस्यसँगै पक्राउ परेकी महिलालाई अदालतले धरौटी राखेर तारेखमा छोड्न आदेश दिएको छ । प्रतिवादी महिलाले ५५ हजार धरौटी राखेर तारेखमा छुटेका छन् ।

वडा सदस्य कट्वालको पहिलो श्रीमतिको मृत्यु भएपछि दोस्रो श्रीमति गरेका थिए । पहिलो श्रीमति पक्षबाट एक छोरी र दोस्रो श्रीमति पक्षबाट एक छोरा रहेका छन् । वडा सदस्यसँगै पक्राउ परेकी महिला तेस्रो श्रीमतिको रुपमा भित्रिएकी थिईन् । महिलाको श्रीमान पनि रहेको छ ।

यस्तै नेपाली नागरिकता किर्ते बनाई प्रचलनमा ल्याएको आरोपमा चौदण्डीगढी नगरपालिका ४ का ४७ वर्षिय जोगमाया राई पक्राउ परेको छ । नेपाली नागरिकता किर्ते गरेको आरोपमा पक्राउ परेका प्रतिवादीलाई जिल्ला अदालत उदयपुरले धरौटीमा छोड्न आदेश दिएको छ । प्रतिवादीले २० हजार धरौटी बुझाएर तारेखमा छुटेका छन् ।

यस्तै चौदण्डीगढी नगरपालिका ८ सिद्धिपुर बस्ने ४१ वर्षिय विजय थुलुङ राई जबरजस्ती करणी उद्योग मुद्दामा फरार प्रतिवादी हुन् । उनी विरुद्ध २०७३ माघ १८ गते एक महिलालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा मुद्धा दर्ता भई फरार भएका थिए । उनलाई आफ्नै घरबाट पक्राउ गरि प्रहरीले जिल्ला अदालत उदयपुरमा बुझाएका थिए । अदालतले ५० हजार धरौटीमा छोड्न आदेश दिएपनि प्रतिवादीले ५० हजार धरौटी राख्न नसकेपछि पुर्पक्षका लागि कारागार चलान भएको प्रहरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया