उदयपुर । उदयपुरमा राजनीतिक दलका नेता कार्यकर्ताले कोरोना विरुद्धको खोप लगाएको काण्ड सेलाउन नपाउँदै फेरी लक्षित वर्ग बाहेक अन्य व्यक्तिहरुले पनि कोरोना विरुद्धको खोप लगाएको फेला परेको छ ।

उदयपुरमा पछिल्लो चरण आइपुगेको खोपमा ५५ वर्षमाथिका सवै, सार्वजनिक यातायातका चालक र सहचालक, शिक्षक प्रधानाध्यापक, विद्यालय कर्मचारी, बैदेशिक रोजगारीमा जाने भिषा लागेका व्यक्ति, पहिलो डोज भेरोसिल खोप लगाएर दोस्रो डोज छुटेकाहरु, अत्यावश्यक काममा खटिएका वर्ग र कर्मचारीलाई चाइनिज खोप भेरोसेल खोप लगाउनु पर्नेमा लक्षित वर्ग बाहेकलाई पनि लगाउन जिल्ला प्रशासन कार्यालय उदयपुरले सिफारिस दिइएको छ ।
कोरोना खोप लगाउनेमा लक्षित वर्गका चालक र सहचालकका नाममा यातायात व्यवसायी संघका पदाधिकारी तथा सदस्यहरु, बस, ट्रक सवारी धनीहरु, यातायात व्यवसायीहरुका आफ्न्तहरुलाई जिल्ला प्रशासन कार्यालय उदयपुरले जिल्ला स्वास्थ्य कार्यालयलाई पत्रचार गर्दै बोधार्थ त्रियुगा नगरपालिकालाई पनि दिइएको छ ।

उदयपुर हिमाली यातायात व्यवसायी संघ, बरुवा यातायात संघ, चौदण्डीगढी यायायात संघ, रौतारानी यातायात संघ, फिफा यातायात संघ, राइन यातायात लगायतका यातायात संघले पनि चालक, सहचालक मात्र नभएर व्यवसायी र व्यवसायीहरुका आफ्न्तहरुलाई पनि सिफारिस गरेर खोप लगाएका छन् ।

उदयपुर हिमाली यातायात व्यवसायी केन्द्रले २०७८ श्रावण २ गतेको मितिमा संघका पदाधिकारी, यातायात व्यवसायी, चालक र सहचालकलाई खोप लगाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुरलाई पत्र लेखेको छ । उदयपुर हिमाली यातायात व्यवसायी केन्द्रका पदाधिकारी ९ जना, यस केन्द्र अन्तर्गतका बस व्यवसायीका धनीहरु करिव ४३ जना र बुकिङ ५४ जनालाई पनि खोप लगाउन जिल्ला प्रशासन कार्यालय उदयपुरले २०७८ श्रावण १० गते जिल्ला स्वास्थ्य कार्यालयलाई पत्रचार गर्दै बोद्यार्थ त्रियुगा नगरपालिका स्वास्थ्य शाखालाई दिइएको छ । जुन स्वास्थ्य निर्देशिका विपरित देखिन्छ ।
केन्द्रका पदाधिकारी, बस धनी र बुकिङ बाहेक उदयपुर हिमाली यातायात व्यवसायी केन्द्र अन्तर्गत चल्ने बसहरुको चालक, सहचालक र परिचालक गरी १ सय ९४ जनालाई खोपको लागि सिफारिस गरेको देखिन्छ । चालक र सहचालकलाई खोप लगाउन निर्देशिका भएपनि परिचालकको हकमा कहि कत्तै उल्लेख छैन् ।
यत तिन पाँग्रे सवारी तथा छोटो दुरीका सवारी साधनका चालकलाई खोप नपाएको गुनासो गरेका छन् । उनीहरुका अनुसार सरकारले चालक र सहचालकलाई खोप लगाउन भनेपनि हाम्रो संघ नहुँदा खोप लगाउन नपाएको गुनासो अटो चालक त्रिभुवन प्रसाद लेखीले गरेका छन् । त्रियुगा नगरपालिकामा करिव पाँच सय बढी अटो चालकहरु रहेका छन । एक अटो चालकका अनुसार खोप लगाउन गएपनि सिफारिस मागेपछि त्यसै फर्किएको बताए ।

त्रियुगा नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक अवध नारायण चौधरीका अनुसार जिल्ला प्रशासन कार्यालय उदयपुरले नै सिफारिस गरेर पठाएकोलाई पनि कोरोना खोप लगाएर पठाएको स्वीकार गरेका छन् । उनका अनुसार जिल्ला प्रशासन कार्यालय उदयपुरले नै सिफारिस गरेर पठाएपछि हामीले रोक्नु भएन् । सिफारिस भए जति सवैलाई खोप लगाएका छौ । उनका अनुसार यातायात व्यवसी, चालक, सहचालक, परिचालकहरु गरि करिव ६ सय बढीले खोप लगाएको हुन सक्ने बताए ।

उदयपुर हिमाली यातायात केन्द्रका पदाधिकारी, व्यवसायीहरु र बुकिङले खोप लगाउन नपाउने जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी तथा कोभिड खोप समन्वय समितिका संयोजक  तुलसीराम सेडाईले बताएका छन् । ‘बस नं. सहित चालक र सहचालक गरी दुई जनाले मात्रै खोप लगाउन पाउने हो त्यो भन्दा बढीले खोप लगाउन पाउँदैन् ।’ प्रजिअ सेडाई, ‘लक्षित वर्ग बाहेकलाई खोपमा सिफारिस गरेमा सिफारिस गर्नेलाई ऐन बमोजिम कारबाही गर्नेछु ।’ प्रजिअ सेडाईले भने, ‘जिल्ला प्रशासन कार्यालयबाट यातायात संघका पदाधिकारी, व्यवसायी र बुकिङहरुलाई खोप लगाउन कुनै सिफारिस गरेकै छैन ।’

निजी विद्यालयद्वारा व्यपारी र आफ्न्तलाई खोपमा सिफारिस

उदयपुरमा क्याम्पस, विद्यालयका शिक्षक शिक्षिका र कर्मचारीलाई लगाउनु पर्ने खोप संचालक र प्रिन्सिपलका आफ्न्तहरुले मनोमानी ढंगले सिफारिस गरेर खोप लगाएका छन् । क्याम्पस तथा विद्यालयका शिक्षक, कर्मचारीको नाममा गैर शिक्षकहरु पनि कोरोना विरुद्धको खोप लगाएका छन् ।

त्रियुगा नगरपालिका अन्तर्गतका अधिकांश निजी विद्यालयहरुले शिक्षक र कर्मचारी भन्दा बढीलाई सिफारिस गरेको पाइएको छ । त्रियुगा नगरपालिकामा नाम चलेका निजी विद्यालयहरुले गैर शिक्षकहरुलाई खोपको लागि सिफारिस गरेको पत्र देखिन्छ ।
त्रियुगा नगरपालिका ११ संगम टोल माथि रहेका नमूना सेकेण्डरी स्कुलका प्रिन्सिपल खेम नारायण यादव (राहुल) ले शिक्षकको नाममा व्यपारीहरुलाई पनि खोप लगाउनको लागि सिफारिस गरेको देखिन्छ । प्रिन्सिपल यादवले शर्मा सप्लायर्स एण्ड टे«डर्सका संचालक राजकुमार शर्मालाई सहायक लेखापाल भन्दै खोप लगाउन सिफारिस गरेको छ ।
यस्तै होटल व्यवसायी एल्विन बस्नेत, अर्का टिभी, पंखा, फ्रिज, लगायतका इलेक्ट्रिोनिक्स व्यवसायी चन्दन कुमार साहलाई डान्स शिक्षक भन्दै खोप लगाउन सिफारिस गरेको देखिन्छ । यस्तै खेल शिक्षक सुदिप श्रेष्ठ, गैर शिक्षक दिनेश कुमार साह सुडीलाई वार्डेन पदका र सहचालक रोसिला काफ्ले भन्दै ३६ जनालाई सिफारिस गरेको देखिन्छ ।
यस विषयमा नमूना स्कूलका संचालक ओम खड्कासँग सम्पर्क गर्दा राजकुमार शर्मा, एल्बिन बस्नेत, चन्दन कुमार साह, सुदिप श्रेष्ठ, दिनेश कुमार साह सुडी लगायत व्यक्ति शिक्षक नरहेको बताएका छन् । उनले स्कूलले उनीहरुलाई नचिन्ने बताए ।

यस्तै पिसजोन इन्टरनेशनल एकेडेमीले शिक्षक कर्मचारी भन्दै ५७ जनालाई सिफारिस गरेको छ । एकेडेमीका संचालक प्रभात कुमार कर्णले ५७ जनालाई सिफारिस गरेको छ । यस विषयमा पिसजोन इन्टरनेशनल एकेडेमीका एक संचालकसँग सम्पर्क गर्दा आफ्नो विद्यालयमा शिक्षक, कर्मचारी गरी ३१ जना मात्रै रहेको जनाएको छ ।
यस्तै टोम एण्ड जेरी मन्टेश्वरी पाठशालाले २६ जना शिक्षक शिक्षिकाको नाम सिफारिस गरेको छ । जुन सिफारिस स्कुलका शिक्षक कर्मचारी भन्दा पाँच गुण बढी रहेको एक अभिभावकले जनाएको छ ।

यस्तै क्यानभास एकेडेमी गाईघाटले पनि ५५ बढीलाई शिक्षक, कर्मचारी भन्दै खोपको लागि सिफारिस गरेको नगर स्वास्थ्य शाखाका कर्मचारी कृष्ण खतिवडाले जनाएको छ । यस्तै लाली गुरास बोर्डिङ स्कुलले पनि बढी शिक्षक तथा कर्मचारीको नाम खोप लगाउन सिफारिस गरेको खतिवडाले बताए ।

खोप सिफारिसका लागि शिक्षा कार्यालयका पूर्व कर्मचारीहरुका कर्मचारीहरुका आफ्न्त, छोरा छोरी लगायतलाई पनि सिफारिस गरेको पाइएको छ ।

यत त्रियुगा नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक अवध नारायण चौधरीका अनुसार सरकारी विद्यालयले सिफारिसमा खासै बदमासी नगरेपनि निजी विद्यालयहरुले गरेको हुन सक्ने बताए ।

त्रियुगा उच्च मावि गाईघाट खोप केन्द्रमा शिक्षकका नाममा फरक नामका व्यक्तिहरुले खोप लगाएको मलाई पनि जानकारी आएको जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईले बताए । उनका अनुसार लक्षित वर्गबाहेकलाई खोप लगाएको प्रमाण फेला परेका कानून बमोजिम हदैसम्मको कारबाही गर्ने बताए । उनका अनुसार आफ्न्त, व्यवसायीलाई निजी तथा सार्वजनिक विद्यालयले सिफारिस गरेका व्यक्ति शिक्षक हुन वा होइनन विद्यालय हाजिरी फारम र तलव भत्ता बुझेको छ छैन लगायतका आधारमा पत्ता लगाई कारबाही गरिने बताए ।

तपाईको प्रतिक्रिया