उदयपुर । उदयपुरमा दुर्घटनामा परी ३८ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७७/०७८ मा साना ठूला दुर्घटनामा परी ३८ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरको तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष २०७६/०७७ को तुलनामा ७ जना बढीको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गाईघाटको तथ्याङ्क अनुसार १२ महिनामा २ सय ३४ साना ठूला दुर्घटनामा परी ३८ जनाको ज्यान गएको देखिन्छ । जसमा पुरुष ३० जना, महिला ५ जना र बालक ३ जनाको ज्यान गएको थियो ।
यस्तै ७९ जना गम्भिर र ३०६ जना सामान्य घाइते भएका थिए । दुर्घटनामा पुरुष ६१ जना, महिला १२ जना र बालक ४ र बालिका १ जना गम्भिर घाइते भएका थिए ।
यस्तै सामान्य घाइते मध्ये पुरुष २०३ जना, महिला ६४ जना, बालक ३६ जना र बालिका १३ जना सामान्य घाइते भएका थिए ।
गत आर्थिक वर्षमा एक चौपाया घाइते भएका छन भने दुई चौपायाको मृत्यु भएको थियो ।
यस्तै आर्थिक वर्ष ०७६/७७ मा सवारी दुर्घटनामा परी २४ पुरुष सहित ३१ जनाको ज्यान गएको थियो भने ५२ पुरुष सहित ७० जना गम्भिर घाइते र १६४ जना सामान्य घाइते भएका थिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गाईघाटका इन्चार्ज लिला कुमार श्रेष्ठका अनुसार क्षमता भन्दा बढी यात्रु बोक्ने, तिव्र गति र मादक पदार्थ सेवनले दुर्घटना बढेको बताए ।
बाटो घाटोको अवस्था हेरेर सवारी चलाउनेदेखि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएपनि चालक र सहचालकको लापरबाहीले पनि दुर्घटना निम्तिएको पाइन्छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका अनुसार हरेक वर्ष यातायात दुर्घटनाको संख्या बढी रहेको छ । दुर्घटनाको मुख्य कारण ट्राफिक नियम पालना नगरेर सवारी चलाउने, सवारी साधनको बढ्दो चाप तथा ट्रयाक नखुल्दै सवारी चलाउन खोज्दा दुर्घटना बढी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका ईन्चार्ज श्रेष्ठ बताउँछन् ।









