उदयपुर । राष्ट्रिय गौरबको सोलु कोरिडोर डबल सर्किट १३२ केभी प्रशारण लाईनको एलाईमेन्ट विवादित क्षेत्रमा भएको निर्माण कार्य तत्काल रोक्न कटारीका सबै सरोकारवालाहरुले माग गरेको छन । कटारी नगरपालिकाको आयोजनामा भएको राजनैतिक दल सहितको सर्वपक्षिय बैठकले कटारी ४ मरुवा क्षेत्रमा प्रशासनको बलमा भएको निर्माण कार्य तत्काल रोक्नु पर्ने निर्णय भएको हो ।

सोलु कोरिडोर विद्युत प्रशारण लाइन निर्माण स्थल सुरक्षार्थ नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन । तस्विर : नागरिक बहस

निर्वतमान संघीय सांसद सुरेशकुमार राईको उपस्थितिमा भएको बैठकले एलाईमेन्टमा पर्ने घर तथा जग्गाको नगरपालिकाले सिफारिस गरेको मूल्य अनुसार मुआब्जा नदिए संघर्षका कार्यक्रमहरु संचालन गर्ने निर्णय गरेको स्थानीय केपी बरालले बताए ।

प्रशारण लाईन विरोधी अभियानमा सक्रिय बरालका अनुसार मावि मरुवाबाट तत्काल प्रहरी हटाउनु पर्ने र निर्माण कार्य रोकेर वार्ताबाट समस्या समाधान गर्नु पर्ने माग राखेको छ ।

‘प्रधानमन्त्री केपी ओलीले समेत एलाईमेन्ट चेन्ज गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।’ देशमा प्रधानमन्त्रीले बोलेको कुरा पुरा हुदैन भन्दै बरालले भने ‘सात दिन भित्र मरुवाबासीको माग पुरा नभए संघर्षका कार्याक्रमहरु परिवर्तन गरि कडा रुपमा प्रतिरोधमा उत्रिनु विकल्प छैन ।

राज्यको कार्यकारी प्रमुखले पहिले एलाईमेन्ट सार्ने बचन दिएका थिए पछि एलाईमेन्ट नसर्ने भएपछि प्रयाप्त मुआब्जा दिने भने मुआब्जामा पनि स्थानीयलाई ठग्ने काम भएको बरालको तर्क छ ।

यता जिल्ला प्रशासन कार्यालयले भने कुनै पनि हालतमा काम नरोकिने जनाएको छ । प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईका अनुसार जिल्ला प्रशासनलाई गृह प्रशासनबाट जसरी पनि काम गर्नु भनेकाले सोलु कोरिडोरको काम अघि बढाईएको बताए ।

‘काम अघि बढी सकेको छ, काम रोक्ने हो भने गृह मन्त्रालयले भन्नु पर्याे अनि रोकिन्छ नत्र रोकिदैन ।’ काम रोक्नका लागि दवाव आएको बताउदै प्रजिअ सेडाईले भने ‘निवर्तमान संघीय सांसद सुरेश राईले वार्ताबाट समस्या सामाधान गर्न भन्नु भएको छ, प्रशासनले काममा अवरोध नभए वल प्रयोग नगर्ने भनेका छौ ।’

मुआब्जा कमी भएको भए जग्गा प्राप्ती ऐन २०३४ बमोजिम पुनारावेदन गर्न आफूले स्थानीयलाई सुझाएको प्रजिअ सेडाईले खुलासा गरे । ‘मुआब्जा कम भए, निवेदन सहित जिल्ला प्रशासनमा आउनु म गृह मन्त्रालय पत्रचार गरि दिन्छु ।’जग्गा प्राप्ती ऐन अनुसार मुअब्जामा पुनरावेदन गर्ने निकाय गृह मन्त्रालय हो भन्दै सेडाईले भने ‘नेपालमै ऐलानी जग्गाको पहिलो पटक मुआब्जा दिने निर्णय यही आयोजनामा मात्र भएको र उदयपुर प्रशासनले प्रयाप्त मुआब्जा निर्धारण गरेको छ ।’

विद्युत् प्राधिकरणले सोलु कोरिडोरमा निर्माणाधीन ३२५ मेगावाट विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको छ । २०७२ चैतमा भारतीय कम्पनी मोहन इनर्जीसँग प्राधिकरणले १३२ केभी डबल सर्किट प्रसारण लाइनको ठेक्का सम्झौता गरेको थियो । जिल्लामा उत्पादित विद्युत् बाहिर लैजान १३२ केभी प्रसारण लाइननिर्माण गरिएको भएपनि स्थानीयबासीको अबरोधका कारण समयमा नै सम्पन्न हुन सकेको छैन ।

सिरहाको मिर्चैयाबाट सोलुखुम्बुको तिङ्लासम्म ३०२ वटा टावर निर्माण गर्नुपर्ने भएपनि अहिलेसम्म २९२ वटामात्रै फाउण्डेशनको काम सकिएको आयोजनाले जनाएको छ । उदयपुरको मरुवामा १० वटा टावर निर्माण गर्नुपर्ने भएपनि स्थानीयबासीको अबरोधका कारण काम अगाडि बढेको छैन् । आयोजनाको अबरोध भएको स्थाननजिकै जनता माध्यामिक बिद्यालय मरुवामा ३ सय ४० भन्दा बढी सुरक्षाकर्मि खटाईएको छ । त्यहाँका १० वटा टावर २ महिना भित्रमा निर्माण सम्पन्न गर्ने आयोजनाको लक्ष्य रहेको छ ।

तपाईको प्रतिक्रिया