सप्तरी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ मा एउटै तेलको ट्याङ्करले दुई किलोमिटरको दुरीमा दुईवटा मोटरसाइकललाई ठक्कर दिएको छ । ठक्करबाट दुवै मोटरसाइकलमा पछाडि सवार एक–एक जना बालिकाको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन् ।शनिबार पूर्वबाट पश्चिमतर्फ गईरहेको ना ७ ख ५४९५ नम्बरको तेलको ट्याङ्करले स ११ प २५८५ र स २ प ५२४५ नम्बरको मोटरसाइकललाई सितापुरमा ठक्कर दिएको हो । त्यस दुर्घटनामा मोटरसाइकलमा सवार रुपनी गाउँपालिका–३ कटैयाका विष्णुदेव प्रमाणीकी ८ वर्षीया छोरी यसोधाकुमारी प्रमाणीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र प्रसाद धमलाले बताए ।

त्यही मोटरसाइकलमा सवार यसोधाकी आमा ३२ वर्षीया सुमनदेवी प्रमाणी र मामा कुसुमलाल मण्डल घाइते भएको प्रहरीले जनाएको छ ।

यसै गरी सितापुरभन्दा करिब २ किलोमिटरको दुरीमा रहेको चाँदनी चौकमा पनि त्यही ट्याङ्करले ५२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको छ । मोटरसाइकलमा पछाडि बसेका कञ्चनरुप नगरपालिका–६ घोघनपुरका मो.अरणजैबकी ७ वर्षीया छोरी सुमैया प्रविणको ज्यान एसपी धमलाले बताए । यसैगरी त्यही मोटरसाइकलमा सवार नविया प्रविण घाइते भएका छन् ।

घाइतेहरुको उपचारको लागि ठेलियामा रहेको एक अस्पतालमा भर्ना गरिएको एसपी धमलाले बताए ।

यसैबीच दुर्घटना लगत्तै स्थानीयबासीले सडकमै शव राखेर राजमार्ग अवरुद्ध गरेका छन् । मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र मनोमानी ढंगले ट्याङ्कर चलाउने चालकलाई कारबाही हुनुपर्ने माग गर्दै उनीहरुले सडक अवरुद्ध गरेका हुन् ।

तपाईको प्रतिक्रिया