उदयपुर । बाणिज्य विभाग क्षेत्रीय कार्यालय विराटनगरबाट आएको अनुगमन टोलीले उद्योग बाणिज्य संघका सदस्य कै पसललाई कार्वाही गरेको छ । क्षेत्रीय कार्यालय विराटनगरका उपसचिव सन्तोष पोखरेलको टोलीले गाईघाट बजार अनुगमन गर्दा त्रियुगा उद्योग वाणिज्य संघका सदस्य विनोद पाण्डेको पाण्डे किराना पसललाई १० हजार जरिवाना गरेको हो ।
अनुगमनको क्रममा म्याद गुज्रेका समान राख्ने र विल विजक नराख्ने पाण्डे किराना पसललाई १० हजार र ढिम्की स्थित प्रतिक्षा ट्रेर्डस एण्ड सप्लायर्सलाई २० हजार जरिवाना गरेको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।
उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विनोद पोखरेल सहितको संयुक्त बजार अनुगमन टोलीले दिउँसो गरेको बजार अनुगमनमा ३० हजार भन्दा बढी मूल्यको म्याद गुज्रेका सामानहरु बरामद गरी नष्ट गरेको छ ।
बाणिज्य संघका सदस्य पाण्डेका दाजु रमेश पाण्डेले संचालन गरेको किराना पसलबाट ठूलो मात्रामा म्याद सकिएका समाग्री समेत बरामद गरेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलले बताए ।
‘हामीले विगतमा समेत पटक पटक व्यवासायीहरुलाई चेतावनी दिएका थियौ तर बारम्बार अटेर गरेपछि वाध्य भएर कार्वाही गर्नु परेको हो ।’ अनुगमनबारे सहायक प्रजिअ पोखरेलले भने ‘पसल भ्याटमा दर्ता छ तर विल विजक खरिद विक्री खाता केही पनि छैन, अनि वाध्य भएर जरिवाना गर्याै ।’
दुबै पसललाई उपभोक्ता संरक्षण ऐन अनुसार कार्वाही गरिएको हो । बुधबार १२ बजे तिर पसल अनुगमनको क्रममा विल माग्दा विल विजक देखाउन सकेनन, २ घण्टा पछि फेरी आउँदा समेत पसलको पुरै डकुमेन्ट देखाउन नसकेपछि जरिवाना गरेको बाणिज्य क्षेत्रीय कार्यालयका उपसचिव सन्तोष पोखरेलले बताए ।
‘भ्याटमा दर्ता भएको पसल छ तर खरिद खाता, विक्री खाता, न खरिद विल छ, न विक्री विल, त्यही भएर जरिवाना गरिएको हो ।’ उपसचिव पोखरेलले भने ।
अनुगमन टोलीले रेडिमेड रसवरी, विस्कुट, कुर्मुरे, लेइज, भुजिया आदि म्याद नाघेका सामानहरु बरामद गरी नष्ट गरेको छ । अनुगमनको क्रममा बिल, विजक नभएका दुई पसलहरुले कालाबजारी तथा कृतिम अभाव गरेको आशंका भएको छ ।
संयुक्त अनुगमन टोलीमा नेपाल प्रहरीका प्रहरी नायव उपरिक्षक बेद प्रसाद गौतम, शसस्त्र प्रहरीका डिएसपी, घरेलु विकास कार्यालय प्रमुख, खाद्यतथा गुण नियन्त्रण डिभिजन कार्यालय प्रमुख लगायत सरोकारवाला निकायहरुको सहभागिता थियो ।









