उदयपुर, यातायत व्यवस्था सेवा कार्यालय गाईघाट उदयपुरले आफ्नो कार्यालयमा रहेको सरकारी मोटरसाईकल दुरुपयोग गर्ने गरेको भेटिएको छ । मोटरसाईकल कार्यालयमा कार्यरत कर्मचारीबाटै दुरुपयोग हुने गरेको भेटिएको हो । नियमित चेकजाँचको क्रममा सो कार्यालयका तिन कर्मचारीले एउटै मोटरसाईकल प्रयोग गरेर यात्रा गर्ने क्रममा बुधवार जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको थियो ।
ट्राफिक प्रहरी कार्यालयका अनुसार बा.२ ब. ३५६६ नम्बरको मोटरसाईकलमा सवार उनीहरु सदरमुकाम गाईघाट स्थित मेन चोकमा पक्राउ परेको थियो । नायब सुब्बा सुनिल कुमार चौधरी चालक रहेको सरकारी मोटरसाईकलमा अन्य यातायतका दुई कर्मचारी रहेको ट्राफिक प्रहरी जवान शंकर लामिछानेले बताए ।
ट्राफिक प्रहरी जवान लामिछानेका अनुसार उनीहरुको साथमा सवारी दर्ता प्रमाण–पत्र र सवारी चालक अनुमति प्रमाण–पत्रसमेत रहेको थिएन । अहिले पक्राउ परेको सेतो नम्बर प्लेटको मोटरसाईकल जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेको छ ।