उदयपुर । उदयपुरमा लक्षित वर्गको लागि आएको कोरोना विरुद्धको खोप पहुँचबालाहरुले लगाएपछि यसकै चर्चा गाईघाटमा मात्रै नभएर जिल्ला भरी नै यत्रतत्र छ । नेपाल सरकारले पछिल्लो पटक काठमाडौं बाहेक देशका सवै जिल्लामा ६२ देखि ६४ उमेर समूहको व्यक्तिलाई कोरोना विरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयले निर्देशन दिइएपनि खोपमा चरम दुरुपयोग भएको छ ।

कोरोना विरुद्धको खोपको दुरुपयोग गर्नेमा उदयपुर पनि अछुतो रहन सकेनन् । उदयपुरमा बेलका नगरपालिकाले राष्ट्रिय मान्यता प्राप्त दलका १०÷१० जना र स्थानीय दलका ३ जनाका दरले खोप लगाउन प्रत्येक वडालाई पत्रचार गरेर खोप लगाउन लगाए ।

यति मात्र कहाँ हो र ? खोप अभियानमा राजनीतिक दलका तल्लो तहका कार्यकर्ता देखि, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि, मानव अधिकारकर्मीको साथै पत्रकारहरुले समेत खोप लगाए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ती नै जारी गरेर स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, निजामति र संस्थानका कर्मचारी, जनप्रतिनिधि, पत्रकार, नेपाली सेनाको शव व्यवस्थापन गर्ने सैनिक, नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई खोप लगाउन आव्हान गरेको थियो । तर, त्यस समयमा खोप इन्कार गर्नेहरु अहिले लक्षित वर्गको खोप पहुँचको आधारमा खोप लगाएका छन् ।

गैरसरकारी संघ संस्थाका नाममा पनि खोप लगाएको पाइन्छ । जव कि कोरोना खोप लगाउने निर्देशिकाले कहि कतै उल्लेख गरेको छैन् ।
अहिले गाईघाटको चोक चोकमा कोरोना विरुद्ध कै खोपको विषयमा चर्चा चुलिएको छ । चर्चा परिचर्चामा पहुँचबालाले जे गर्दा पनि हुने नै बढी प्रश्नहरु तेस्रिएको छ ।

यता खुद्रा तथा खाद्यन्न व्यवसायीहरुले लक्षित वर्गभन्दा बाहिरकालाई खोप लगाएकोमा आफुहरुले पनि खोप पाउनु पर्ने माग उठाएका छन् । एक जना व्यवसायी कोरोना संक्रमित भएमा उसले सयौं ग्राहकलाई कोरोना सार्न सक्ने भएकोले कोरोना विरुद्धको खोप व्यवसायीहरुले पनि लगाउन पाउनु पर्ने गाईघाटमा किराना पसल गर्दै आएका व्यवसायी प्रदिप श्रेष्ठ बताउँछन् । काम नपाएर गफ लडाएर बस्नेलाई पहुँचको आधारमा खोप लगाई दिनु पर्ने तर सरकारलाई महिनै महिना कर तिर्ने व्यवसायीलाई तिरस्कार गरेको प्रति श्रेष्ठले आपति जनाए । हामी जस्ता मध्यम वर्गका व्यवसायीहरुलाई पनि कोरोना विरुद्धको खोप लगाउन पाउँनु पर्छ होइन भने बाध्य भएर व्यवसायी नै बन्द गर्ने वातावरण सृजना नहोस् ।

कुन ग्राहकलाई कोरोना संक्रमित छ कुन ग्राहक कोरोना संक्रमित छैन छुटयाउन नसकिने भएकाले जोखिममा रहेका मासु व्यवसायीहरुलाई पनि खोप उपलब्ध गराई दिनु पर्ने मोतिगडामा मासु व्यवसायी गर्दै आएका रामकुमार चौधरी बताउँछन् । सामाजिक दुरी कायम गर्न आग्रह गर्दा पनि सामाजिक दुरी तथा स्वास्थ्य सुरक्षाको मापदण्ड नअपनाई आउने गरेकोले उनीहरुबाट बच्न र अरुलाई पनि बचाउन खोप आवश्यक रहेको बताए ।

यत नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य तथा त्रियुगा उद्योग वाणिज्य संघका गजेन्द्र कुमार भगतका अनुसार माछा, मासु, दुध दही, फलफुल, तरकारी तथा खाद्यन्न लगायतका पसलका संचालक तथा कर्मचारीहरुलाई अनिवार्य रुपमा कोरोना विरुद्धको खोप सरकारले लगाई दिनु पर्ने बताए । “व्यवसायीहरुलाई कोरोना विरुद्धको खोप उपलब्ध नगराए सारा व्यवसायी नै बन्द गर्न बाध्य नपारौंस भन्न चाहान्छु ।” केन्द्रिय सदस्य भगतले भने, “सर्वोच्चले निषेधज्ञामा कर नउठाउनु भन्छन तर आन्तरिक राजश्व कार्यालय कर नतिरे जरिवाना समेत हान्ने गरेको छ, यो एकदम सरासर गलत रहेको छ ।”

केन्द्रीय सदस्य भगतले थपे, “बैंक तथा वित्तिय संस्थाले साँबा र व्याजको कुरा गरेको छ भने घर धनीले घर भाडाको कुरा गरेकोले व्यवसायी धरासयी बन्ने अवस्थामा पुगेकोले सरकारले कर असुल्नु अघि कोरोना विरुद्धको खोप लगाई दिनु पर्ने हुन्छ । व्यवसायी बचे न कर तिरौला, बैंकको व्याज तिरौला, नभए कहाँबाट ल्याएर तिर्ने ।” निषेधज्ञा अवधि भरमा बैंकले व्याज मिनाहा गरिदिनु पर्ने, घरधनीले घर भाडामा छुट दिलाई दिनु पर्ने केन्द्रीय सदस्य भगतले बताए ।

“सरकारले जसरी पनि व्यवसायीलाई कोरोना विरुद्धको खोप लगाएर ढुक्कसँग व्यपार व्यवसाय संचालन गर्न दिनु पर्ने होइन भने बाध्य भएर खाद्यन्न पसल समेत बन्द गर्न बाध्य नबनाई दिन अनुरोध गर्दछु ।” केन्द्रीय सदस्य भगतले भने, “यो आग्रह मात्र हो, आग्रहलाई बेवास्ता गरे कुनै पनि पसल संचालन गर्न दिने छैनौं ।”

तपाईको प्रतिक्रिया