उदयपुर । कोरोना महामारीले हाम्रो श्रमिक जनशक्तिको गन्तव्य उथलपुथल मात्रै पारेको छैन् । श्रमिक जनशक्ति नै कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेको छ ।

उदयपुरमा ६० वर्षमुनीका ३३ जना व्यक्तिको कोरोनाबाट ज्यान गएको छ । मृत्यु हुनेमा ९ महिला र २४ पुरुष रहेका छन भने ६० वर्षमाथिका १३ जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ । यो पनि दुई महिनाको अवधिको भित्र मात्रै हो ।गत वर्षको कोरोनाको पहिलो लहरले ६ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क प्रमुख उमेश लुईटेलले जानकारी दिए । दुई महिनाको अवधिमा जिल्लामा २० वर्ष मुनीका समूहलाई कोरोना लागेपछि मृत्यु शुन्य रहेको छ ।

२१ देखि ३० वर्षको अवधि उमेर समूहका २ जना, ३१ वर्षदेखि ४० वर्ष उमेर समूहका ९ जना, ४१ वर्षदेखि ५० वर्ष उमेर समूहका १० जना, ५१ वर्षदेखि ६० वर्ष समूहका १२ जनाको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाउँछ ।

यस्तै ६१ वर्षदेखि ७० वर्ष उमेर समूहका ५ जना, ७१ वर्षदेखि ८० वर्ष उमेर समूहका ३ जना र ८१ वर्षदेखि ९० वर्ष उमेर समूहका ५ जनाको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङ्कले देखाउँछ । ९१ वर्षदेखि १०० बर्ष समूहका मृत्यु शून्य रहेको छ ।

अहिलेसम्म त्रियुगा नगरपालिकामा २४ जना, कटारी नगरपालिकामा ४ जना, बेलका नगरपालिकामा ४ जना, चौदण्डीगढी नगरपालिकामा ९ जना, रौतामाई गाउँपालिकामा १ जना, उदयपुरगढी गाउँपालिकामा ३ जना र लिम्चुङबुङ गाउँपालिकामा १ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट मर्नेको संख्या सवैभन्दा बढी त्रियुगामा २४ जना रहेको छ । २४ जनामध्ये त्रियुगा नगरपालिका ३ का ५ जनाको मृत्यु भएको छ । यस्तै रौतामाई गाउँपालिका ७ मुर्कुचीका एकै परिवारका आमा र दुई दाजुभाईको कोरोनाबाट मृत्यु भएको छ ।

कोरोनाको दोस्रो भेरियन्टका कारण उदयपुरमा कोरोना सङ्क्रमण गत वर्षको तुलनामा ५ गुणा बढीले बढेको छ । गत वर्ष करिव ३१५ बढी कोरोना संक्रमित थिए भने यस वर्षको दुई महिनाको अवधिमै १ हजार ६ सय १७ जना पुगेको छ ।

पहिलो लहरभन्दा दोस्रोमा उदयपुर निकै तीब्र गतिमा सङ्क्रमण र मृत्युदर बढेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । “पहिलो लहरभन्दा निकै खतरा रहेको भन्ने कुरा विश्व स्वास्थ्य सङ्गठनले नै भनिसकेको छ । उदयपुरको आठ पालिकामध्ये त्रियुगामा संक्रमित र मृत्युदर बढेको छ” प्रमुख सुवेदीले भने , “कोरोना सङ्क्रमण बढ्दै गएपनि जटिल अवस्थाका बिरामी केही मात्रामा केही दिन यता घटेको देखिएको छ, अझै सचेतना अपनाउन जरुरी छ ।”

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी तुलसी राम सेढाईले जिल्लामा सङ्क्रमणको दर नियन्त्रणमा आईसकेको जनाएको छ । जल्लामा निषेधाज्ञा, सचेतना, परीक्षण र उपचार प्रभावकारी रूपमा गर्दा सङ्क्रमणको दर घट्दै गएको बताउँछन् ।

यत सर्वसाधारणका अनुसार परीक्षण दर नै कम गरेपछि संक्रmमितको संख्या घटनु स्वभाविक रहेको बताउँछन् । जति नै बढी परीक्षण गर्ने हो त्यति नै बढी संक्रमित हुन्छ । गाउँघरमा अझै पनि ज्वरो, रुघा खोकीको विरामी प्रसस्त रहेको त्रियुगा नगरपालिका ३ का स्थानीय कैलाश बस्नेत बताउँछन् । उनले भने, ‘मृत्यु हुनेमा त्रियुगा नगरपालिकामा सवैभन्दा बढी छ र मृत्यु हुनेमा त्रियुगा नपा वडा नं. ३ को बढी रहेको छ तर परीक्षण भने छदैछैन् । कहाँबाट कोरोना हटौस् ।’

जिल्लामा पछिल्लो समय निषेधाज्ञा समेत उल्लङ्घन भइरहेकाले कारण कोरोना सङ्क्रमण नघटेको नागरिकहरुको गुनासो छ ।

तपाईको प्रतिक्रिया