आजबाट उदयपुरमा ६२ देखि ६४ वर्ष उमेर समूहकालाई कोरोना विरुद्धको खोप लगाइँदै
उदयपुर । उदयपुरमा पनि ६२ देखि ६४ वर्ष उमेर समूहकालाई पहिलो चरणको खोप लगाउने भएको छ । उदयपुरमा पनि आजबाट कोरोना विरूद्धको चाइनिज भ्याक्सिन भेरोसिल खोप लगाइने भएको छ ।
६२ देखि ६४ वर्ष उमेर समूहकालाई पहिलो मात्रामा भेरोसेल (चाइनिज) खोप लगाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी चिरन्जिवी निरौलाले जानकारी दिए । उदयपुरमा आठ वटै पालिकामा जेठ २५ देखि ३० गतेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ । खोप बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म पालिका केन्द्र वा नजिकको अस्पतालको खोप केन्द्रमा गएर खोप लगाउन सकिनेछ ।
बेलका नगरपालिका नगर अस्पताल रामपुर, चौदण्डीगढी नगरपालिकाको नगर अस्पताल बेल्टार र उदयपुरगढी गाउँपालिका केन्द्रमा जेष्ठ २५ र २६ गते खोप संचालन हुनेछ ।
कटारी अस्पतालमा जेष्ठ २६ र २७ गते, ताप्ली गाउँपालिकामा जेष्ठ २७ र २८ गते खोप संचालन हुनेछ । लिम्चुङबुङ र रौतामाई गाउँपालिकामा जेष्ठ २८ र २९ गते संचालन हुने छ ।
यस्तै जिल्ला अस्पताल बोक्सेमा जेष्ठ २७, २८, २९ र ३० गते खोप संचालन हुनेछ ।
खोप लगाउनका लागि उमेर खुल्ने परिचय पत्र साथमा लैजानु पर्नेछ । भेरोसिलको पहिलो खोप लगाएकाहरुले दोस्रो खोप नलगाएकाहरुलाई पनि खोप लगाउनका लागि अनुरोध गरिएको छ । तोकिएको उमेर समूहका व्यक्तिहरुबाहेक अन्य व्यक्तिहरुले यो खोप लगाउन पाउने छैनन् ।

तपाईको प्रतिक्रिया