उदयपुर । उदयपुरमा शुक्रबार थप ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या १ हजार ४ सय २९ जना पुगेको हो । ३२ पुरुष र ३२ महिलामा शुक्रबार संक्रमाण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरकाअनुसार आज त्रियुगा नगरपालिका, लिम्चुङबुङ र रौतामाई गाउँपालिकामा संक्रमण पुष्टि भएको छ । सबै भन्दाबढी त्रियुगामा २४ पुरुष र १९ महिला गरी ४३, लिम्चुङबुङमा ७ पुरुष र १० महिला गरी १७ र रौतामाईमा ३ महिला र एक पुरुषमा संक्रमण पुष्टि भएको छ ।
जिल्लामा थप एक महिलाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । ज्यान गुमाउनेमा चौदण्डीगढी नगरपालिका–६ का ४० वर्षीया महिला रहेकी छिन् । योसँगै जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३९ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
बेलटारस्थित उदयपुर कोविड अस्पतालमा उपचाररत उनलाई केहीदिनअघि रिफर गरेपछि विराट मेडिकल कलेज बिराटनगर भर्ना गरिएको थियो । भेन्टिलेटरमा उपचारत उनको शुक्रबार विहान मृत्यु भएको चौदण्डीगढी ६ का वडाध्यक्ष कमल राईले बताए । वडाध्यक्ष राईका अनुसार शुक्रबारसहित चौदण्डीगढीमा कोविडले मृतकको संख्या २ महिलासहित ७ जना पुगेको छ ।
जिल्लामा कोरोना जितेर शुक्रबार थप १० जना संक्रमति घरफर्किएसँगै १ सय ५९ पुरुष र १ सय १४ जना महिला गरी २ सय ७३ पुगेको हो । जिल्लाभर सक्रिय संक्रमितको संख्या ६ सय ९ र ५ सय ८ गरी १ हजार १ सय १७ रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाउँछ ।









