उदयपुर । उदयपुरमा जारी निषेधज्ञाको उलंघन गर्दै कारको ठक्करबाट दुई जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका ६ स्थित नेपालटारमा बुधबार साँझ ६ः४० बजेको समयमा गाईघाटबाट काठमाडौं तर्फ गईरहेको बा.१२ च ९८६२ नम्बरको कारले विपरित दिसाबाट आउँदै गरेको स. १० प २७२ नम्बरको मोटर साइकललाई ठक्कर दिएको थियो ।
कारको ठक्करबाट घाईते हुनेमा मोटर साइकल चालक उदयपुरगढी गाउँपालिका ६ बस्ने ठट बहादुर राई र अमृत तामाङ्ग रहेको छ । उनीहरुको गाईघाट जिल्ला अस्पतालमा उपचार पछि थप उपचारको लागि न्यूरो हस्पिटल विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जानकारी दिए ।
मोटर साइकललाई ठक्कर दिएर फरार कार इलाका प्रहरी कार्यालय कटारीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको कार नेकपा एमालेका जिल्ला कमिटी सदस्य युवा नेता भागवत राउतको रहेको खुलेको छ । राउत, राउतका श्रीमति र छोरा पनि उक्त कारमा थिए । चालकमा राउत आफै रहेको प्रहरीले जानकारी दिए ।
पक्राउ परेको कारमा प्रेस लेखेको पाइएको कटारी प्रहरी स्रोतले जानकारी दिए । नियन्त्रणमा लिएको कार अनुसन्धानको लागि भन्दै राति नै जिल्ला प्रहरी कार्यालय उदयपुर तानेको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए । कारमा प्रेस लेखेर टासेर चलाएको बारेमा इलाकाप्रहरी कार्यालयका डिएसपी क्षेत्रीले बताउन चाहेनन् । ‘कारको सवारी पास थियो कि थिएन, प्रेस लेखेको थियो कि थिएन जिल्ला तिर बुझन् होला ।’ डिएसपीले भने, ‘जिल्लाबाट आदेश भएपछि उत्तै पठाई दिएको हुँ ।’
प्रहरी नियन्त्रणमा रहेको कारमा प्रेस लेखेर टासेर नभई सवारी पास रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी दाहालले जानकारी दिए । एसपी दाहालले भने, ‘कहिले काँही पत्रकारहरुले गाडी प्रयोग गरेको हुन सक्ने तर जिल्लामा ल्याएको गाडीमा प्रेस लेखेको छैन् ।’
राउतको कारमा केही दिनदेखि नै प्रेस लेखेर चलाई रहेको रहस्य समेत खुलेको छ । राउतको कारमा प्रेस लेखेर चलाई रहेको मैले पनि देखेको जिल्ला अनुसन्धान कार्यालयका एक कर्मचारीले पनि पुष्टी गरेको छ । उनले भने, ‘बुधबार विहानसम्म गाईघाटमा त्यही कारमा प्रेस लेखेको मैले देखेको थिए ।’









