उदयपुर, उदयपुरको बेलका नगरपालिकामा एक वर्षिय बालिकाको मुटुको भल्ब बन्द भएको छ । बेलका नगररपालिका वडा नं. ७ बस्ने मेसन राईकी एक बर्षिया छोरीको मुटुको उपचार गर्न आर्थिक अभाव भएकोले सहयोगको याचना गरेका छन ।
एक बर्षिया बालिका अपेक्षा राई मुटुको भल्बमा समस्या भएर विगत केही महिना देखि गंगालाल हृदय रोग निवारण केन्द्र बाँसबारीमा उपचाररत रहेकी बुबा मेसनले जानकारी दिए । ‘छोरीको मुटुको भल्ब बन्द भएको र चिकित्सकले अप्रेशन गरेर भल्ब खुलाउनु पर्ने जनाएपछि भल्बको अप्रेशन गर्न आर्थिक अभाव भएको छ ।’ बालिकाका बुबा मेसनले भने ‘डाक्टरले अप्रेशन गर्न धेरै रकम लाग्छ भनेका छन् म सँग पैसा छैन ।’ छोरीको मुटुको अप्रेशन गर्न पैसा सहयोग गरि उपचारमा सहयोग गरिदिनु हुन आग्रह गरेका छन् ।
यसैविच बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापा स्वस्तीले पनि बालिकाको उपचारमा सहयोग गर्न आग्रह गरेका छन । मेयर थापाले सामाजिक संजालमा लेखेका छन ‘बेलका ७ मैनामैनिकी १ बर्षिय अपेक्षा राईको मुटुको अप्रेशन गर्न, आर्थिक सहयोग गरि दिनहुन बिनम्र अनुरोध गर्दछु !’ मेयर थापाले सहयोग गर्न चाहने व्यक्तीले आफैलाई नै सम्पर्क गर्न सक्ने भनेर आफ्नै मोवाईल नम्बर समेत सार्वजनिक गरेका छन ।
मेयरले सार्वजनिक रुपमा सहयोगको आग्रह गरेपछि सहयोगी हातहरुले सहयोग गर्न सुरुवात गरेका छन । बेलका ९ नम्बर वडाका वडा अध्यक्ष मोहन घिमिरेले फेसबुकमा मुटुरोगी बालिकालाई बेलका ९ निवासी मित्र मोहन विश्वकर्माले ५ हजार १५ रुपैया रकम सहयोग गरेको सार्वजनिक गरेका छन । वडा अध्यक्ष घिमिरेका अनुसार सहयोग गर्ने मोहन विश्वकर्मा वैदेशिक रोजगारीको क्रममा रहेकाले आईएमई मार्फत रकम पठाएको उल्लेख छ ।