उदयपुर । उदयपुरमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका ११ का २७ वर्षिय युवक र लिम्चुङबुङ गाउँपालिका २ का ५५ वर्षिय पुरुष रहेका छन् । २७ वर्षिय युवकको विराट नर्सिङ होम विराटनगरमा मृत्यु भयो भने अर्का ५५ वर्षिय पुरुषको लिम्चुङबुङ गाउँपालिकाले बनाएको आइसोलेशनमा मृत्यु भएको हो ।

अहिलेसम्म जिल्लामा ११ महिला र २७ पुरुष गरी ३८ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङ्कले देखाउँछ । जसमा त्रियुगा नगरपालिकामा २३ जना, कटारी नगरपालिकामा ३ जना, बेलका नगरपालिकामा २ जना, चौदण्डीगढी नगरपालिकामा ६ जना, रौतामाई गाउँपालिकामा १ जना, उदयपुरगढी गाउँपालिकामा २ जना र ताप्ली गाउँपालिकामा १ जनाको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको विहिबारको तथ्याङ्क अनुसार १२ महिला र २४ पुरुष गरी ३६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । त्रियुगा नगरपालिकामा ४ महिला र १५ पुरुष गरी १९ जना, चौदण्डीगढी नगरपालिकामा ८ महिला र ८ पुरुष गरी १६ जना र बेलका नगरपालिकामा एक पुरुषमा कोरोना संक्रमण देखिएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ६५ पुगेको छ ।

अहिलेसम्म सबैभन्दा बढी त्रियुगा नगरपालिकामा कोरोना संक्रमित र संक्रमणबाट मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या त्रियुगा नगरपालिकामा २२८ महिला र २९४ पुरुष गरी ५२२ जना, कटारी नगरपालिकामा ५२ महिला र ६२ पुरुष गरी ११४ जना, बेलका नगरपालिकामा ६१ महिला र ५८ पुरुष गरी ११९ जना, उदयपुरगढी गाउँपालिकामा १४ महिला र २२ पुरुष गरी ३६ जना, ताप्ली गाउँपालिकामा ४ महिला र ७ पुरुष गरी ११ जना र रौतामाई गाउँपालिकामा २८ महिला र ५० पुरुष गरी ७८ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङ्कले देखाएको छ ।

विहिबार १४ जना मात्रै कोरोनामुक्त भएका छन् । अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या २६३ पुगेको छ ।

तपाईको प्रतिक्रिया