उदयपुर । उदयपुरमा एकै परिवारमा तीन जनाको मृत्यु यो सायद पहिलो घटना हो । एउटै परिवारमा तीन जना सदस्यको मृत्यु भएपछि त्यो परिवारको लागि यो भन्दा ठूलो बज्रपात अरु के नै हुन्छ र ?
दुई छोराको मृत्यु को पीडा सहनै नसकेर आमाको पनि विहिबार विहान मृत्यु भएको छ ।
रौतामाई गाउँपालिका ७ मुर्कुचीका एकै परिवारका चार जनामा कोरोना देखिएको थियो । आमा र तीन छोरामा कोरोना संक्रमित देखिएको थियो । संक्रमित हुनेमा ७२ वर्षिय तिलामाया मगर (आमा), ५१ वर्षिय पुस्कल मस्राङ्गी मगर (जेठा छोरा), ४५ वर्षिय तुलबहादुर मस्राङ्गी मगर (साइला छोरा) र सन्तोष मस्राङ्गी मगर (कान्छा छोरा) मा कोरोना संक्रमित देखिए । उनीहरु सवैलाई आँखा अस्पतालको कोभिड आईशोलेसनमा बसेर उपचार गराउँदै थियो । जेठा र साइलालाई श्वासप्रश्वासमा समस्या भएर विराटनगर रेफर गरियो भने कान्छा छोरा कोभिड आईसुलेशन गाईघाटमा उपचार पछि निको भएर घर फर्किसकेका छन् । आमामा कुनै लक्षण नदेखिएकोले घरमै थिए ।
जब जेठा र साइला छोरालाई आइसियुमा राखेको खबर सुनेपछि उनलाई चिन्ताले सताउन थालेपछि कोरोनाले च्याप्दै गएको मृतकका ज्वाइले जानकारी दिए । जेष्ठ १५ गते साइला छोराको मृत्युको खबरले आमा झनै विक्षप्त भए । त्यसको ३ दिनपछि (जेष्ठ १८) जेठा छोराको मृत्युले आमाले खानै खान छोडेको मृतकका ज्वाइ मनोज रानाले जानकारी दिए ।
आमाले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएकोले खासै असर जस्तो देखिएन् । उनी सुगर, प्रेसरका पनि विरामी थिए तर पनि कोरोनाको कुनै लक्षण थिएन् । छोराहरु विरामी नभए अघिसम्म हिडडुल गरि नै रहेको थियो । जव तीन तीन दिनको अन्तरालमा दुई छोरा गुमाउनुको पीडाले झनै खान छोडेपछि विहिबार विहान ४ः१५ बजे मृत्यु भएको ज्वाइले बताए । आमाको बुधबार मात्रै कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । कोरोनालाई जितेपछि मृत्युलाई जित्न नसकेको ज्वाइ रानाले जानकारी दिए ।
मुल घर मुर्कुची भए पनि त्रियुगा नगरपालिका ११ गाईघाट बस्दै आएका साइला छोरा तुलबहादुरको जेष्ठ १५ गते राति उपचारको क्रममा विराट मेडिकल कलेज विराटनगरमा मृत्यु भएको थियो । भने जेठा छोरा पुस्करको जेष्ठ १८ गते राति नोवेल मेडिकल कलेज विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ ।
उदयपुरमा कोरोना संक्रमणबाट मर्नेको संख्या ३६ पुगेको छ ।









