काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेले डोटी जिल्लामा स्वास्थ्य सामग्री वितरण गरेका थिए । वितरण गरिएको स्वास्थ्य सामग्री मध्ये चिन सरकारबाट अनुदानमा प्राप्त अक्सिजन सिलिण्डरमा मन्त्रीले आफ्नो फोटो सहित वितरण गरेको खुलाशा भएको छ ।
गृह जिल्लाका अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने औषधि, ७५ थान भरिएका अक्सिजन सिलिण्डर, सर्जिकल मास्क एक लाख ५० हजार, तीन थान अक्सिजन उत्पादन गर्ने कन्सन्टे«टर, ३० एचडियु श्यया, एन्टिजेन किट, रेम्डिसिभिर, स्यानिटाइजर लगायत छन् । केही नियमित सरकारी प्रक्रियाबाट प्राप्त हुने सामग्रीका अतिरिक्त ७५ थान भरिएका अक्सिजन सिलिण्डर, एक लाख ५० हजार सर्जिकल मास्क, एन्टिजेन किट, रेम्डेसिभिर, स्यानिटाइजर मन्त्री आलेले आफ्नो लगानीमा किनेर दिएको उनका सचिवालयका कर्मचारीको दाबी छ ।
मन्त्री आलेले डोटी पुर्याएका सिलिन्डरदेखि औषषिका प्याकेटसम्म आफ्नो तस्विर टाँसेका छन् । ती मध्ये केही अनुदानका निलो अक्सिजनका सिलिन्डरमा समेत उनै आलेको तस्विर छ । तर, उक्त सिलिन्डर केहीदिन अघि चिनिया सरकारले नेपाललाई अनुदानमा दिएको खुलासा भएको छ ।
गत वैशाखमा चीन सरकारले नेपाललाई २० हजार सिलिन्डर अक्सिजन दिने घोषणा गरेको थियो । घोषणा अनुसार वैशाख २१ मा २ हजार अक्सिजनको खाली सिलिन्डर नेपाल आएको थियो । ति सिलिन्डरमै मन्त्री आलेले आफ्नो तस्विर राखेर गृहजिल्लामा प्रचार गरेको स्रोतले जनाएको छ । यद्धपी आलेले भने सोही सिलिन्डरहर आफ्नै खर्चमा किनेर डोटी अस्पतालमा सहयोग गरेको दाबी गरेका छन् ।
जनता कोरोना महामारीले मृत्युवरण गरिरहँदा अनुदानको सिलिन्डरमा समेत आलेले आफ्नो तस्विर छापेर वितरण गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।









