उदयपुर । कोभिड महामारीले पिल्सिरहेका बेला ‘अप्ठेरोमा असुल्ने’ केही व्यापारीको गलत नियतका कारण सर्वसाधारण महँगीको मारसमेत खेप्न बाध्य भएका छन् ।सरकारी निकायले मौन समर्थन जनाइदिएपछि केही व्यपारीहरूले खाद्यवस्तुमा मनलाग्दी मूल्यवृद्धि गरेर चरम लुट गरिरहेका छन् । निषेधाज्ञा सुरु भएको वैशाख महिनामा चामल, मुसुरोको दाल र चिनीको भाउ किलोमा ५ देखि १५ रुपैयाँसम्म बढाइएको स्थानीय उपभोक्ताहरुको गुनासो रहेको छ । उनीहरुका अनुसार खानेतेलमा कार्टुनमा ३ सय देखि ५ सय रुपैयासम्म बढाइएको छ । गत वर्षको तुलना र यस वर्षको तुलनामा तेलमा दोब्बर बढीले भाउ बढेको छ ।

निषेधाज्ञाको १५ दिनको अवधिमा चिनीमा प्रतिकिलो ७ रुपैयाँ, खाने तेल सनफ्लावर प्रतिलिटरमा १५ रुपैयाँ, धारा तोरीको तेल प्रतिलिटर ४० रुपैयाँ, रातो मुसुरोको दाल प्रतिकिलोमा १५ रुपैयाँ र चामल प्रतिकिलोमा पाँच रुपैयाँले बढेको व्यपारी आफै स्वीकार गर्दछ ।

निषेधाज्ञाको अघिल्लो दिनसम्म होलसेलमा ७५ रुपैयाँ प्रतिकिलोमा पाइने चिनीको मूल्य अहिले ८६ रुपैयाँ प्रतिकिलो पुगेको छ । खुद्रामा बिक्री गर्दा अहिले चिनीको भाउ किलोमा ९५ रुपैयाँ पुगेको उनको भनाइ छ ।

यस्तै निषेधाज्ञा अघि प्रतिलिटर २२० रुपैयाँमा पाउने सनफ्लावर खाने तेलको भाउ निषेधाज्ञाकै अवधिमा २३५ रुपैयाँ पुगेको छ भने धारा तेल प्रति लिटर ३१० पुगेको छ । गत वर्ष प्रति कार्टुन एक हजार पाँच सय पर्ने सनफ्लावर खाने तेल दुई हजार छ सय, धारा तेल तीन हजार एक सय प्रति काटुन पुगेको छ ।

प्रतिकिलो ११५ रुपैयाँमा पाइने मुसुरोको रातो दालको भाउ पनि १२५ देखि १३० रुपैयाँ पु¥याइएको छ भने सबै खाले चामलको भाउ किलोमा पाँच रुपैयाँ बढीले बढेको छ ।

स्थानीय उपभोक्ता प्रमिला कुमारी चौधरीले भने–‘व्यवसायीहरु मौज्दात सकिएको, आयातमा अप्ठ्यारो भएको जस्ता कारण देखाएर मूल्य बढाएको बताउने गरेका छन् । महामारीमा पनि मनलाग्दी मूल्य बढाइयो ।’ उनले भने, ‘महामारीबाट बाँचिएला तर, यो महंगीबाट बाँच्न नसकिने रहेछ !’

नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य तथा त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र भगतका अनुसार खाद्य सामग्रीमा मूल्य वृद्धि भएको स्वीकार गरेका छन् । उनका अनुसार खाने तेलको मिललाई नै सम्पर्क गर्दा कच्चा पदार्थ आपूर्ति नभएकोले तेलहरुको मूल्य वृद्धि गरेका छन् । उनका अनुसार दाल, चामल र चिनीमा पनि थोरै थोरै मूल्य वृद्धि भएपनि यहाँबाट होइन होलसेलबाटै बढेर आएपछि यहाँ पनि बढाएको हुन सक्ने बताए ।

अन्य खाद्य सामग्री खुर्शानी, जिरा, धनिया लगायतमा भने मूल्य वृद्धि नभएको उनको जिकिर छ । महामारीको समयमा व्यवसायीले नभई उत्पादक उद्योगी व्यवसायीले नै मूल्य बढाएको उनको भनाइ छ । उपभोक्ताले निषेधाज्ञामा डरका कारण खाद्यवस्तु मौज्दात गर्ने प्रचलन बढ्दा पनि मूल्य बढी लिनेलाई बल मिलेको अध्यक्ष भगतको जिकिर छ ।

मूकदर्शक नियामक निकाय

महामारीको बीचमै बजारमा मूल्य वृद्धिले उपभोक्ताको ढाड सेकिरहेको बेला नियामक निकाय भने मौन छ । जिल्ला प्रशासन कार्यालय, साना उद्योग तथा घरेलु कार्यालय, नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, लगायतका निकायहरु अहिले मौन बसेका छन् ।

यस्तै उपभोक्ताकै हितका लागि खोलिएका उपभोक्ता हित संरक्षण मञ्च, राष्ट्रिय उपभोक्ता मञ्च नेपाल लगायत संस्था पनि मौन देखिन्छ ।

चिनी लगायत खाद्यान्नको मूल्य वृद्धिबारे गुनासो प्राप्त भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय उदयपुरका प्रमुख रमेश दाहालले बताए । उपलब्ध स्रोत र साधनका आधारमा बजार अनुगमन गरिरहेको उनको दाबी छ । उनले भने, ‘यो राष्ट्रिय समस्या रहेछ, यहाँबाट नभएर फ्याक्ट्रीबाट बढेर आएको विल देखाउँछन् । कसलाई कारबाही गर्ने ?’

तपाईको प्रतिक्रिया