उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा करिव २५ अघिदेखि आर्ट र फोटो स्टुडियो संचालन गर्दै आएका एक हस्ती अस्ताएका छन् । त्रियुगा नगरपालिका ३ घर भई गाईघाटमा सागर आर्ट एण्ड फोटो स्टुडियो संचालन गर्दै आएका अन्दाजी ४८ वर्षिय विष्णुदेव चौधरीको उपचारको क्रममा निधन भएको छ ।
उनले लामो समय अरुको आर्टमा काम गर्दै आएपछि फोटो सुटिङको तालिम लिएर आफ्नै आर्ट र फोटो स्टुडियो संचालन गरेर जिवन विताईरहेका थिए । उनको फोटो स्टुडियो र भिडियो सुटिङ नै जिन्दगी बन्यो । उनी क्यामरासँग खेल्न माहिर भएकाले विवाह वर्तबन्धन लगायतमा फोटो खिच्ने, भिडियो खिच्ने कामले व्यस्त थिए ।
उनले हजारौं फोटोहरु बनाए होलान् । कैयौ विवाहमा भिडियो खिचे होलन तर यस वर्षको विवाहमा खिचेको भिडियोले उनी थला परे । थलापरेपछि उनको शनिबार साँझ करिव ८ बजे विएण्डसी हस्पिटल विर्तामोड झापामा उपचारको क्रममा निधन भयो ।
उनले कैयौ पार्टीका व्यानर र झण्डाहरु बनाए होलान, कैयौ निबन्ध प्रतियोगिता, बक्तृत्व प्रतियोगिता, हाजरी जवाफ प्रतियोगिता लगायतका खेलकुद प्रतियोगिताहरुको विजयीहरुको नामको प्रमाणपत्र बनाए होलन तर उनले रोगमाथि विजय प्राप्त गर्न सकेनन् ।
उनले कैयौलाई फोटो स्टुडियोको तालिम दिएर रोजगार बनाए । कैयौंको नागरिकताको लागि पास फोटो खिचेका फोटोहरु नागरिकताको प्रमाण पत्रमा सुरक्षित होलान तर उनी आफु रोगसँग सुरक्षित हुन सकेनन् । उनले फोटो खिचेर र सर्टिफिकेट प्रमाणपत्रहरुको फोटोकपी गरेर जागिरमा भर्न सहज पारि दिए । तर, उनी आफै अव सदाका लागि यस संसारबाट विदा भए ।
फोटो स्टुडियोको साथसाथै उनले अमेरिकी डिभी भर्ने काम गर्दथे । उनको स्टुडियोबाट डिभी भरेका करिव पाँच दर्जन युवाहरु अमेरिकामा छन् । सादा जिवन उच्च विचार भएका उनी प्राय कसैसँग रिसाउने बानी थिएन् । उनले खिचेका कैयौ तस्विरहरु घरको भित्तामा झुण्डि रहेको होला तर अव उनको तस्विर भित्तामा झुण्डिएपनि भावपूर्ण श्रद्धाञ्जलीको फ्रेममा झुण्डिने बाहेक अरु भौतिक शरिर हामी विच हुने छैन् । उनको श्रीमति, एक छोरी र एक छोरा छन् ।









