उदयपुर । उदयपुरमा कोभिड १९ (कोरोना भाइरस) बाट हालसम्म चार जनाको मृत्यु भइसकेको छ, भने कुल संक्रमितको संख्या एक सय ४४ पुगेको छ ।
स्वास्थ्य कार्यालय उदयपुरका तथ्यङक अधिकृत उमेश लुईटेलका अनुसार मृत्यु हुनेमा दुई जना महिला र दुई जना पुरुष रहेका छन् । ‘कुल संक्रमित मध्ये ९१ जना पुरुष र ५३ जना महिला छन्,’ उनले भने, ‘अहिले हामीले परीक्षण गरेको तथ्यङक जम्मा गरेका छैनौँ ।’
उनका अनुसार अहिलेसम्म कति जनामा कोरोना परीक्षण गरियो भन्ने एकिन तथ्यङक छैन् ।
कुन पालिकामा कति संक्रमित ?
तथ्यङक अधिकृत उमेश लुईटेलका अनुसार हालसम्म त्रियुगा नगरपालिकमा संक्रमितको संख्या उच्च रहेको छ । जसमा महिला ३८ र पुरुष ५३ गरी हालसम्म ९१ जना संक्रमित फेला परेको उनको भनाइ छ । यसै गरी कटारी नगरपालिकामा ६ महिला १० पुरुष गरी १६ जना संक्रमित छन् ।
बेलका नगरपालिकामा दुई महिला र ८ पुरुष गरी १० जना संक्रमित छन् । चौदण्डीगढी नगरपालिकामा चार महिला र १२ पुरुष गरी १६ जना संक्रमित फेला परेका छन् । रौतामाई गाउँपालिकामा एक महिला र चार पुरुष गरी पाँच जना संक्रमित छन् ।
यसैगरी उदयपुरगढी गाउँपालिकामा दुई महिला र तीन पुरुष गरी पाँचजना संक्रमित छन् । एकजना पुरुष संक्रमित भएको उनले बताए । ‘अहिलेसम्म ताप्ली र लिम्चुङबुङ गाउँपालिकामा संक्रमितको संख्या शुन्य रहेको छ ।
कुन पालिकामा कतिको मृत्यु ?
उदयपुरमा हालसम्म चार जनाको मृत्यु भइसकेको छ । जसमा दुई जना महिला र दुईजना पुरुष छन् । लुईटेलका अनुसार त्रियुगा र कटारी नगरपालिकामा एक÷एक जना महिलाको मृत्यु भइसकेको छ, भने चौदण्डीगढी नगरपालिकामा दुई जना पुरुषको मात्र मृत्यु भएको छ ।









