उदयपुर । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को संक्रमणदर पछिल्लोे केही समय यता उदयपुरमा ह्वात्तै बढेपछि त्रियुगा र कटारी नगरपालिकाले अतिआवश्यक कामकाज बाहेक अन्य काम बन्द गर्ने निर्णय गरेको छ ।
त्रियुगा नगरपालिकाका बैशाख २२ गतेबाट लागू हुने गरी बैशाख ३१ गतेसम्मका लागि अतिआवश्यक सेवाबाहेकका कामकाज बन्द गर्ने निर्णय गरेको छ । नयाँ भेरियन्टको कोरोना संक्रमित त्रियुगा नगरपालिकामा अधिक भेटिएपछि समुदायस्तरमा थप फैलिन नदिन नगरपालिकाको कामकाज १० दिन सम्म बन्द गरिने निर्णय भएको हो । त्रियुगा नगरपालिका कार्यालयहरु र माताहतका सवै वडा कार्यालयलाई पत्रचार गरि सम्पूर्ण वडाको कामकाज पनि बन्द गर्न निर्देशन दिइएको छ ।
त्रियुगा नगरपालिकामा २० महिला सहित ५४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । त्रियुगा नगरपालिकामा समुदाय स्तरमै कोरोना संक्रमण फेलिएकोले रोकथामको लागि नगरपालिका मताहतका कार्यालय र वडा कार्यालयहरु बन्द गर्ने निर्णय गरिएको मेयर बलदेव चौधरीले जानकारी दिए ।
नगरमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछी उदयपुरको कटारी नगरपालिकाले बुधबार राति १० बजेदेखि लाग ुहुने गरी ७ दिनका लागि नगरमा अत्यावश्यक बाहेकका सवै कार्य गर्न प्रतिवन्ध गर्ने निर्णय गरेको छ । मंगलबार नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठको नेतृत्वमा वसेको वैठकले २९ वैशाख राति १२ बजेसम्म लागु हुने गरी कटारी बजार लगायतका नगरका क्षेत्रमा अत्यावश्यक बाहेकका सम्पूर्ण पसलहरु, व्यवसाय, यातायातका सम्पूर्ण सवारी साधनहरु र मानिसहरुमा आउजाउमा समेत कडाई गर्ने निर्णय गरेको छ ।
त्यसैगरी कोरोना संक्रमण देखिएको क्षेत्रमा संक्रमितसँग सम्पर्कमा रहेकाहरुको एन्टिजेन परीक्षण गर्ने, एन्टिजेनमा पोजिटिभ देखिए होमआईशोलेसनमा वस्न आग्रह गरी स्वाब संकलन गर्ने पनि निर्णय भएको छ । कटारी नगरपालिकामा हाल ७ जना कोरोनाका सकृय संक्रमित रहेका छन् ।

तपाईको प्रतिक्रिया