२०७७ साल अब हामी बीच पुरानो भएर सदाका लागि बिदा भएको छ । आजदेखि हामी निकै सपनाहरू, कामनाहरू साँचेर नयाँ वर्ष विक्रम सम्वत् २०७८ लाई स्वागत गर्दैछौं । एउटा वर्ष सकिनु र अर्काे वर्ष आरम्भ हुनु सामान्य प्रकृया हो । केवल एउटा ‘क्यालेण्डर’ वा ज्योतिषीय पात्रो फेरिए जस्तो मात्र । तर वास्तविकता त्यस्तो हुँदैन । व्यक्ति, समाज वा राष्ट्रको जीवनमा बितेको वर्षभरिका घटनाहरू र आगामी वर्षका सम्भावनाहरूको आफ्नै विशिष्ट महत्व हुन्छ । एउटा व्यक्ति, समाज वा राष्ट्रले बितेको वर्षबाट धेरै शिक्षा लिन्छ र आगामी वर्षको मार्गचित्र कोर्छ । बितेको वर्षको मूल्यांकन र नयाँ वर्षको सपना हामी यसै कारण निर्धारण गर्छाै ।
एक वर्षअघि नयाँ साललाई स्वागत गर्दा कोरोनाको यस्तै भय र अनिश्चितता थियो । एकप्रकारले राष्ट्रिय बेचैनी छाएको थियो । उसो त लकडाउन हुनेखानेका लागि परिवारसंँग समय बिताउने अवसर बनेर आयो । यद्यपि हुँदा खानेका लागि त्यो साँच्चिकैको विपत् थियो । हप्तौंको लकडाउन तोड्दै पोकापन्तुरा बोकेर हूलका हूल मानिस घर फर्कन राजमार्गमा पैदल हिँडिरहेका देखिन्थे । कोही खाली खुट्टै त कोही चप्पल घिसारेर । कोही बच्चा च्यापेका, कोही वृद्ध बोकेका । सीमामा अलपत्र हजारौं नागरिकको पीडा त्यस्तै हृदयविदारक थियो । २०७७ कोरोना–कहर बनेर भित्रिएको थियो । २०७८ मा त्यही कहरको दोस्रो लहर सुरु भएको छ ।
२०७७ मा नेपाली समाजलाई कोरोनाले मात्रै गाँजेन, राजनीतिको कहरले पनि आक्रान्त पा¥यो । तर नेतृत्वले न कोरोनाको सही व्यवस्थापन गर्न सक्यो, न त राजनीतिकै । २०७७ किन नमीठो पाठ बनेर बिदा भयो ? आज राजनीति किन ‘डेडलक’मा छ ? किन गाँठो झन् कसिलो हुँदैछ ?
उही महँगी, उही मूल्यवृद्धि, उही असुरक्षा, भ्रष्टाचार । कहीं कतै सन्तोष लिने ठाउँ भएन । स्थानीय सरकारमा राम्रालाई भन्दा हाम्रालाई बढी प्राथमिकतामा राख्दै कामकाज अघि बढ्यो । स्थानीय सरकारको गति चलेपनि बेला बेलामा विवादित बन्दै गएको समाचारहरु पढ्न र सुन्न पाएकैछौ । स्थानीय तहमा पहिलाका भन्दा बढी भ्रष्टचार बढ्यो, पहुँच, अवसरवादीले मात्रै लाभ लिन पाए भने उँही नारामा मात्रै सिंह दरबारको सरकार गाउँ गाउँमा भाषणै सिमित हुन पुग्यो । चुनावताका नेताहरुले बोलेको अधिकांश भाषणका कुराहरु आम सर्वसाधारणहरुको लागि कति पुरा भए कति पुरा भए त्यसको समिक्षा हुनु जरुरी छ । कर्मचारीहरु स्थानीय, प्रदेश वा संघमा रहने विवादले पनि २०७७ फलदायी हुन सकेन । कोरोना रोकथामका लागि खरिद सामग्री खरिद प्रकरण होस या यति ग्रुपसँगको सम्बन्धले चर्चाको विषय बन्यो । सेक्रुयुटी प्रेस खरिद प्रकरणले पनि ठूलै चर्चा पायो ।
२०७७ वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि शुरु भएको कलह पुस ५ गते संसद नै विघठन गरिदियो । विघठित संसदलाई बदर गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गर्यो । यस्तै वादीले माग्दै नमागेको दावी बाहेकको सर्वोच्च अदालतको फैसलाले नेकपा पार्टी विभाजन गराउनेसम्मको सेटिङले चर्चाको विषय बन्न पुग्यो ।
अन्तमा हामीले हाम्रा प्रिय पाठकहरूबाट पाएका माया, हौसलाहरु त्यसै मर्न दिनेछैनौं । नयाँ बर्ष २०७८ सवैको हर्ष र उत्साहको बर्ष बनोस्, देशले सम्वृद्धिको बाटो समाओस्, भ्रष्टाचार र कुरीतिका घटना सुन्न नपरोस् , प्राकृतिक प्रकोप र अप्रिय घटना नदोहोरिउन । नयाँ बर्ष २०७८ को पावन अवसरमा हामी हाम्रा सम्पूर्ण पाठक र विज्ञापनदाताहरूको साथै सम्पूर्ण मान्यजन, स्वदेश तथा विदेशमा रहनुहुने आमाबुवा, दाजुभाई, दिदीबहिनी, शुभचिन्तक सबैमा उन्नती, प्रगति, सुख, समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं । कार्यकारी सम्पादक

तपाईको प्रतिक्रिया