उदयपुर । उदयपुरमा शनिबार आगलागीबाट करिव एक सय ५ घर पूर्णरुपमा जलेर नष्ट भएको छ । त्रियुगा नगरपालिका ६ देउरी स्थित मुसहर बस्तीमा आगलागी भएर एक सय ५ घर पूर्णरुपमा जलेर नष्ट भएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिका ६ देउरीका मनकुमार, नन्दी, पुरन, बन्हु लगायत एक सय ५ घर पूर्णरुपमा जलेर नष्ट भएको छ । हावा चलिरहेकोले आगो नियन्त्रण बाहिर रहेको स्थानीय बेचन सदाले जानकारी दिए । उनका अनुसार आगलागी शुरु हुनासाथ वडा कार्यालय र त्रियुगा नगरपालिकामा जानकारी गराउँदा ढिलो गरी दमकल पठाउँदा धेरै घरहरु जलेर नष्ट भएको छ ।
आगो नियन्त्रणमा लिनेक्रममा करिव स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी एक दर्जन मानिस घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको पहिचान खुल्न नसकेपनि उनीहरुलाई नेपाल रेडक्रस उदयपुर शाखामार्फत जिल्ला अस्पताल उदयपुरमा उपचारको लागि पठाएको छ । आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाल सशस्त्र प्रहरी त्रियुगा गुल्म बोक्से, रण सार्दुल गण बोक्सेको विपद व्यवस्थापन टोली, त्रियुगा नगरपालिका र चौदण्डीगढी नगरपालिकाको दमकललाई हम्मे हम्मे परेको थियो । आगो करिव ६ घण्टा पछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
आगलागीबाट महिला, बालबालिका, वृद्ध वृद्धा, सुत्केरी, गर्भवती, अपाङ्गहरु बढी प्रभावित भएको छ । आगलागीबाट एक सय ५ घर पूर्णरुपमा जलेर नष्ट भएको प्रारम्भिक जानकारी आएको त्रियुगा नगरपालिका ६ का वडाध्यक्ष निर्मल कुमार चौधरीले जानकारी दिए । उनका अनुसार अहिले घटना स्थलमै छु । उद्धार कार्य जारी रहेको छ भने आगलागीबाट विस्थापितहरुको लागि जनता माध्यमिमक विद्यालयको भवनहरुमा राखिएको छ । आगलागीबाट विस्थापितहरुको लागि त्रियुगा उद्योग वाणिज्य संघको तर्फबाट उनीहरुलाई ओढ्ने ओछ्याउने र केही राहत उपलब्ध गराईएको वडाध्यक्ष चौधरीले जानकारी दिए ।
यस्तै अग्नी पीडितहरु त्रियुगा नगरपालिका ६ वडा कार्यालय हुँदै त्रियुगा नगरपालिकाको कार्यालय घेराउ गर्न पुगेका थिए । त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, उपमेयर देवी कुमारी चौधरी, नगर विपद व्यवस्थापन समिति संयोजक सुभाष निरौला लगायत वडाध्यक्षहरु कार्यपालिकाको बैठक बसी तत्कालै राहत प्याकेज घोषणा गरेको छ । घोषणा लगतै मेयर, उपमेयर, नगर विपद व्यवस्थापनको टोली घटना स्थल निरीक्षणमा निस्केका थिए । आगलागी के कारणले भएको भन्ने अझैसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । घटना बारे सत्य तथ्य जानकारीको लागि अनुगमन गरेर थप सहयोग गर्ने उपमेयर देवी कुमारी चौधरीले जानकारी दिए ।
यस्तै पीडितहरुले त्रियुगा नगरपालिकाले गरेको सहयोगमा चित्त नबुझदा जिल्ला प्रशासन कार्यालय उदयपुर पनि घेराउ गर्न पुगेका थिए । पीडितहरुका अनुसार भए भरको घर जलेर नष्ट भएको छ । ओढ्ने ओछ्याउने, भाडाकुडा, अन्नपात जलेर नष्ट भएको अग्नी पीडितहरुले बताएका छन् । उनीहरुका अनुसार उद्योग वाणिज्य संघ र त्रियुगा नगरपालिकाले उपलब्ध गराएको राहत कम भएको भन्दै थप राहत पाउनु पर्ने बताए ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले क्षतिको बारे यकिन गरि राहत वितरण गर्ने जानकारी दिए । उनका अनुसार आगो लाग्नुको कारण र क्षतिबारे प्रदेश, केन्द्रीय सरकारलाई जानकारी गराई सकेकोले थप सहयोग गर्न सकिने बताए ।
माथिका घटनाहरु वास्तविक नभएर काल्पनिक हुन् । बाढी, सर्पदंश, आगलागी र सडक दुर्घटनामा आधारित जिल्ला स्तरीय कृतिम घटना अभ्यास कार्यक्रमको परिघटना मात्रै हुन् । जिल्ला व्यवस्थापन समिति उदयपुरको आयोजना, त्रियुगा नगरपालिकाको सहयोग र नेपाल रेडक्रस सोसाइटी उदयपुरको प्राविधिक सहयोगमा जिल्ला स्तरीय कृतिम घटना अभ्यास कार्यक्रम त्रियुगा नगरपालिका ६ देउरीको सिमेन्ट फ्याक्टरीको फिल्डमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट सहायक प्रमुुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल, प्रमुख अतिथिमा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, विशेष अतिथिहरुमा बेलका नगरपालिका मेयर दुर्गा थापा, चौदण्डीगढी नगरपालिकाका उपमेयर रीताकुमारी चौधरी, बेलका नगरपालिकाका उपमेयर रामकुमारी चौधरी, जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख भिमबहादुर दाहाल, सशस्त्र प्रहरी बल नेपाल ५ नं. हेक्वा त्रियुगाका प्रमुख सुधिर सुवेदी, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदी, जिल्ला अस्पतालका प्रमुख जीवनारायण मण्डल, डिभिजन वन कार्यालय गाईघाटका प्रमुख अम्विका प्रसाद पौडेल लगायत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया