उदयपुर / उदयपुरमा जंगली हात्तीको आक्रमणबाट आइतबार साँझ एक जनाको ज्यान गएको छ । त्रियुगा नगरपालिका १२ सोनापुरका सहरमान राईकी श्रीमति अन्दाजी ६५ वर्षिय वृद्धा सावित्री राईलाई जंगली हात्तीले आक्रमण गरी मारेको हो ।
त्रियुगा नगरपालिका २ लुहाले सामुदायिक वनमा घाँस काट्न जंगल गएकी राईलाई हात्तीले आक्रमण गरी मारेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले जानकारी दिए । मंसिर २६ मा पनि बेलका नगरपालिका ३ का ५० वर्षिय बुद्धिमान मगरलाई हात्तीले आक्रमण गरी मारेको थियो । एक महिनाको अवधिमा जंगली हात्तीको आक्रमणबाट दुई जनाको ज्यान गैई सकेको छ ।
घटनाको जानकारी आउने वित्तिकै घटनस्थलमा प्रहरी पुगेर घटना प्रकृती मुचुल्का तयार गरि मृतक राईको शव पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा ल्याईएको प्रहरीले जनाएको छ । जंगली हात्तीको आक्रमणबाट बृद्धाको मृत्यु भएको डिभिजन वन कार्यालय उदयपुरले पुष्टी गरेको छ । डिभिजन वन अधिकृत बिष्णु प्रसाद आचार्यका अनुसार मृतकका आफन्तलाई सरकारको तर्फबाट प्राप्त हुने क्षति तथा राहतको लागि आवश्यक सहयोग र सिफारिस गर्ने जनाएका छन ।

यता डिभिजन वन कार्यालयले मान्छे मार्ने हात्तीलाई कार्वाही गर्ने जनाएको छ । डिभिजन वन कार्यालयको फेसबुक पेजमा मृतक प्रति श्रद्र्धाञ्जली व्यक्त गर्दै मान्छे मार्ने हात्तीलाई कडा भन्दा कडा कार्वाही हुने भनिएको छ । समाजिक संजाल प्रयोगकर्ता रोहित आचार्यले मान्छे मार्ने हात्तीलाई कार्वाही हुन्छ की हुदैन ? के छ वन ऐनमा भन्ने प्रश्नको जवाफमा डिभिजन वन कार्यालयले भनेको छ ‘कार्वाही हुन्छ, कडा कारर्वाही छ ऐनमा’ एक महिनाको अवधिमा हात्तीले उदयपुरको त्रियुगा नगरपालिका, चौदण्डीगढी र बेलका नगरपालिकामा गरी दर्जन भन्दा बढी घर भत्काई र अन्नपात नष्ट गरिदिएको छ ।









