उदयपुर । सप्तरीको खड्क नगरपालिका ४ अमहामा आज राति करेन्ट लागेर एक हात्तीको ज्यान गएको छ । एक महिनादेखि सप्तरीको विभिन्न भागमा आतंक मचाउँदै आएको समूहमा रहेको एक हात्तीले विद्युतको तार छोएका कारण करेन्ट लागेर ज्यान गएको छ । 
खेतमा हात्ती मरेको अवस्थामा स्थानीयहरुले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे सत्य तथ्य बुझने काम भईरहेको कोसी टाप्पु वन्यजन्तु आरक्ष कार्यालय कुसहा, सुनसरीका प्रमुख चन्द्रशेखर चौधरीले जानकारी दिए । घटनास्थल तर्फ प्राविधिक सहितको टोली परिचालन गरिएको उनले बताए ।
मृतक हात्तीको सुरक्षार्थ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र वन रक्षक परिचालन गरिएको छ ।
हात्ती मरेको खबर फैलिएपछि सयौँको संख्यामा हात्ती हेर्नेको भिड लागेको छ । महेन्द्र राजमार्ग समेत जाम हुने गरी गाउँगाउँबाट मान्छे मरेको हात्ती हेर्न र हात्तीसँगै सेल्फी खिच्न थालेको छ ।
यस अघि सप्तरी कै कञ्चनरूप नगरपालिका– ५ स्थित पडेमारामा मंसिर ७ मा करेन्ट लागेर एक हात्ती मरेको थियो ।









