उदयपुर । दाउराको खपत गर्दा वन विनाश बढ्ने भन्दै उदयपुरको एक सामुदायिक वनले उपभोक्तालाई एलपी ग्यास बाल्न सिलिण्डर र चुलो वितरण गरेको छ । दाउरा प्रयोग गर्दा दिनदिनै वन जंगल विनाश हुँदै गएको भन्दै त्रियुगा नगरपालिका १४ र १५ मा रहेका सरस्वती सामुदायिक वन उपभोक्ता समूहका उपभोक्तालाई एलपी ग्यास बाल्न सिलिण्डर वितरण गरिएको हो ।
सामुदायिक वन समूहमा आबद्ध उपभोक्तालाई ११ लाख २० हजार रुपैयाँ बराबरको १ सय ५० घरधुरी उपभोक्तालाई एलपी ग्यासको सिलिण्डर वितरण गरेको समूहका अध्यक्ष तोप बहादुर समाल मगरले जानकारी दिए । समूहले आर्थिक वर्ष २०७७÷७८ को गरिवी निवारण कार्यक्रम अन्तर्गत समूहभित्र रहेका दलित, एकल महिला र विपन्न गरी १ सय ५० घरधुरी परिवारलाई ग्यास सिलिण्डर र चुलो वितरण गरेको समूहका अध्यक्ष मगरले बताए । चालु आर्थिक वर्षको कार्यक्रम अन्तर्गत १० अतिविपन्न परिवारलाई घर छाउने जस्ता पाता पनि वितरण गर्ने कार्यक्रम रहेको उनले बताए ।
अध्यक्ष मगरका अनुसार वार्षिक कार्य योजनामा समेटिएका लक्षित उपभोक्तामध्ये अव अन्तिम चरणमा थप उपभोक्तालाई सिलिण्डर वितरण गरिने छ । घरायसी प्रयोजनका लागि दाउरा बाल्न रुख काट्दा वन फँडानी हुँदै आएको भन्दै समूहले कार्ययोजना बनाएर वन विनाश रोक्न लागेको हो। खासगरी गरिव, बिपन्न, दलित र एकल महिलालाई बैकल्पिक उर्जा कार्यक्रमअन्तर्गत एलपी ग्यास सिलिण्डर र चुलो वितरण गरिएको हो ।
सामुदायिक वनको आम्दानीबाट प्रत्येक घरधुरीलाई १–१ वटा ग्यास चुलोसमेत बितरण गर्ने कार्यक्रम रहेको र त्यसअन्तर्गत अहिलेसम्म १ सय ५० जनालाई ग्यास सिलिण्डरसहित चुल्हो समेत बितरण गरिएको समूहका सचिव कोपिला राउतले बताईन । उनका अनुसार उपभोक्तालाई धुवाँमुक्त बनाउने योजना पनि यसमा समेटिएको छ । सरकारले अघि सारेको ‘धुँवामुक्त त्रियुगा नगर अभियान’ लाई सहयोग गर्न पनि ग्यास सिलिण्डर बितरण गरिएको सचिव राउतले बताईन् ।
समूहले सिलिण्डर बितरणसँगै उपभोक्तालाई स्वरोजगार बनाएर आयआर्जन गराउने नीति पनि समूहले लिएको छ । समूहले स्थानीय युवा र महिलालाई आयआर्जन गराएर आत्मनिर्भर बनाउने उदेश्यले वार्षिक कार्ययोजनामै ‘स्वरोजगार कार्यक्रम’ को नीति लिएको छ । सो कार्यक्रमअन्तर्गत विगतमा उन्नत जातको बाख्रा बितरण गरेर पशु उद्यममा लगाइएको छ । समूहभित्र रहेका गरिव, बिपन्न, दलित र महिलालाई उद्यम व्यवसायमा लगाएर आयआर्जन गराउने उद्देश्यले उन्नतजातका बाख्रा बितरण गरिएको सचिव राउतले बताईन् ।
डिभिजन वन कार्यालय उदयपुरका सहायक वन अधिकृत तथा सूचना अधिकारी जागेश्वर साहका अनुसार उदयपुरमा वन समूहभित्रका एक घरधुरी उपभोक्ताले वार्षिक ३० देखि ३५ भारी दाउरा खपत गर्ने गरेको तथ्यांक निस्केको छ । ‘यसरी उपभोक्ताले खपत गर्ने दाउरा भनेको वन सम्पदा मासेरै हो’ डिभिजन वन सहायक वन अधिकृत साहले भने, ‘यस्तै तरिकाले वन मासेर दाउरा उत्पादन गर्दै जाने हो भने त केहीवर्षभित्रै वन सकिने निश्चित भयो, त्यसैले बिकल्पमा डिभिजन वन कार्यालय गाईघाटले ग्यास सिलिण्डर बितरणको अवधारण ल्याएका हौं ।’
‘ग्यास वितरणले वन संरक्षणसंगै दाउराको खोजीमा खर्चिनु पर्ने समय बचत भई उत्पादनशील क्षेत्रमा उपभोग गर्न सक्ने र महत्वपूर्ण कुरा भान्सालाई धुवाँ रहित बनाई दिदी बहिनीहरुको स्वास्थ्य समस्या न्यूनीकरण गर्ने अवसर समेत रहेको छ ।’ साहले भने । खाना पकाउने प्रयोग हुने दाउरा उत्पादन त्यही सामुदायिक वनक्षेत्रबाटै हुने भएकाले यसबाट वर्षेनी वन विनाश बढ्दै गएको पाएपछि रुख काट्ने काममा कमी ल्याउन ग्यास सिलिण्डर बितरण गर्ने कार्य योजना बनाउन समुदायिक वनहरुलाई आग्रह गरिएको सहायक वन अधिकृत साहको भनाई छ ।

तपाईको प्रतिक्रिया