उदयपुर । उदयपुरका एक युवा उद्यमीले आफ्नौ वैवाहिक वर्षगाँठको उपलक्ष्यमा चौदण्डीगढी नगरपालिका ९ का २० मुसहर परिवारलाई ब्लाङ्केट वितरण गरेको छ ।
त्रियुगा नगरपालिका ३ मोतिगडाका गिरीबन्धु प्लाष्टिक रिसाइकलिङ्ग उद्योगका संचालक तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ १ नं. प्रदेश सदस्य युवा उद्यमी प्रदिप गिरीले आफ्नो १८ औं वैवाहिक वर्षगाँठको उपलक्ष्यमा परिवारसहित चिसोबाट बच्न २० मुसहर परिवारलाई ब्लाङ्केट वितरण गरेको हो । यस्तै चिसोबाट बच्न गिरीले तीन जनालाई लगाउने ज्याकेट पनि वितरण गरेको थियो ।
यस्तै केहि दिन अगाडी चौदण्डीगढी नगरपालिका ९ हडियाका हरिबहादुर बस्नेत (माइला बस्नेत) को परिवारलाई ब्लाङ्केटका साथै भाडा वर्तन, खानेकुराहरु पनि वितरण गरेको थियो । भान्साकोठाको पछाडीबाट अचानक आगलागी हुँदा ढुङ्गा, माटो र काठले बनेको टीनको छाना भएको दुई तले कच्ची घर, घर भित्र रहेको अन्दाजी ५० मुरी धान, लत्ताकपडा, भाडाकुडा, नगद पैसा लगायत सम्पूर्ण समान जलेर नष्ट भएको प्रहरीले जानकारी दिए । गोठमा समेत आगलागी हुँदा बाख्राको खोर सहित ४ वटा बाख्रा, ७ वटा कुखुरा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
दानविर गिरीका भने, ‘मैले मेरो मेहनतको कमाईको केही प्रतिशत दान गर्ने लक्ष्य बमोजिम दुःख पाएका दिनदुःखी, अग्नी पीडित, घरबार नभएका व्यक्तिलाई दान गर्ने गरेको छु ।’ यस अघि पनि जिल्ला तथा जिल्ला बाहिरका विभिन्न ठाउँमा अग्नी पीडित, बाढी पीडित र भुकम्प पीडितलाई व्यक्तिगत रुपमा राहत वितरण गर्दै आएको छ । 









