उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १४ धाप्लाङ्गस्थित एक क्रसर उद्योगमा सोमबार राती अज्ञात समुहले दुई वटा वम विष्फोट गराएको छ । द कञ्चनजंघा गोल्डेन गुड जेवीको क्रमसर उद्योगमा ६ जनाको संख्यामा आएको उक्त समुहले वम विस्फोट गराएको हो ।
मुकुन्डो लगाएर उद्योग भित्र प्रवेश गरेको उक्त समुहले विस्फोट गर्नु पुर्व सुरक्षागार्ड स्थानीय ६० बर्षिय कर्णबहादुर तामाङ्गलाई पेस्तोल देखाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । अज्ञात समूहलाई प्रतिकार गर्न खोज्दा तामाङ्गमाथि कुटपिट समेत गरेको प्रहरीले जनाएको छ ।
अज्ञात समुहले विस्फोटसँगै खुकुरीले मेसिन घुमाउने फित्ता काटेको, तेलको ड्रममा आगो लगाउने प्रयास गर्दा स्थानीय आएपछि त्यसै छोडेर भागेको सुरक्षागार्ड कर्णबहादुर तामाङ्गले बताए । उनले भने, ‘दिउँसो एक जना नचिनेका व्यक्ति आएर सोधी खोजी गरेका थिए, राती अकास्मात आएर मलाई पेस्तोल र खुकुरी देखाए प्रतिकार गर्न खोज्दा कुटपिट गरे ।’
घटना लगत्तै एसपी भिमबहादुर दाहालको नेतृत्वमा प्रहरी टोली पुगेको थियो । उनका अनुसार जेसीवी र क्रसर मेसिनमा सामान्य क्षति पुगेको बताए । उनका अनुसार करिव एक लाख बराबरको क्षति पुगेको बताए । बम विस्फोटको कसैले जिम्मा लिएको छैन् । सगरमाथा लोकमार्ग अन्र्तगतको दियाले–अँधेरी–फोक्सीन्टार सडक खण्डलाई लक्षित गरी स्थापना गरिएको अस्थायी क्रसर उद्योग हो । बिस्फोट भएको वम सुतली हुन सक्ने प्रहरीको अनुमान छ ।
यसअघि मंसिर ६ गते राति ताप्ली गाउँपालिकाको प्रशासनिक भवनमा अज्ञात समूहले बम विस्फोट गराएको थियो भने मंसिर १९ गते नै सौर्य सिमेन्ट उद्योगको खानी क्षेत्रमा अज्ञात समुहले वम बिस्पोटन गराएको थियो ।
मंगलबार बिहान ४ बजेको समयमा शंकस्पदको आधारमा सशस्त्र प्रहरी बल सुरक्षा बेस बेल्टार र इलाका प्रहरी कार्यालय बेल्टारले ३ जना व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।
मोटरसाईकल सहित जिल्ला उदयपुर चौदण्डीगढी नगरपालिका ८ बस्ने २३ वर्षिय एम्बि पुलामी मगर, ३२ वर्षिय यम्बर बहादुर मगर र १८ वर्षिय दिपक क्षेत्री खत्री रहेको छ । उनीहरुमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
उदयपुरको दुर्गम क्षेत्रमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको सकृयता रहेको छ । वम विस्फोट कसले गर्यो भन्ने एकिन नभएपनि विप्लव समुहले विस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ ।









