उदयपुर । उदयपुरमा दुई मोटर साइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मदन भण्डारी राजमार्ग अन्तर्गत चौदण्डीगढी नगरपालिका ६ सातधारेमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश नं. १–०५–००१ प १८५० नम्बरको मोटर साइकल र पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको स.६प ९१०१ नम्बरको मोटर साइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको छ ।
घाइते हुनेहरुमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश नं. १–०५–००१ प १८५० नम्बरको मोटर साइकलमा सबार खोटाङ बाह्रपोखरी गाउँपालिका ४ बस्ने २९ वर्षिय दिवस राई गम्भिर घाइते, सोही मोटर साइकलमा पछाडि सबार सोही ठाउँका २६ वर्षिय साधना राई सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए ।
अर्का स.१ प ९१०१ नम्बरको मोटर साइकलमा सवार खोटाङ तुवाचुङ नगरपालिका चेस्मीटार घर भई हाल त्रियुगा नगरपालिका २ मा डेरागरी बस्ने भविन्द्र परियार गम्भिर घाइते भएको थियो । उनको विपी कोइराला विज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । दिवस राईको विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ भने साधना राईको चौदण्डीगढी नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।









