उदयपुर । मुलुकभर लैंगिक हिंसा विरुद्धको अभियान चलिरहेका वेला उदयपुरमा एउटी ११ वर्षिय बालिका बलात्कृत भएकी छिन् । जिल्लाको बेलका नगरपालिका ९ रामपुरठोक्सिलाका ११ वर्षीया बालिकामाथि कहाली लाग्दो बलात्कारको घटना बाहिरिएको छ ।
सोमबार दिउँसो करिव ३ बजेको समयमा नातिनी सहरको बालिकालाई ललाई फकाई सिटी हलको शौचालयमा बलात्कार गरेको आरोपमा स्थानीय ६३ वर्षिय सूर्य पोखरेललाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय रामपुरका इन्चार्ज हरि खड्काले जानकारी दिए । उनका अनुसार रामपुर बजार हिडेकी बालिकालाई सिटी हल नजिक कोही नभएको मौकामा ललाई फकाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकोलाई जिल्ला अदालत उदयपुरबाट थप म्याद लिई आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
यस्तै जिल्लामा बलात्कारको अवस्था निकै भयाभह देखिएको छ । यहाँ पछिल्लो ४ महिनाको अवधिमा १९ जना महिला तथा बालिका बलात्कृत भएको तथ्याङ्क देखिन्छ भने १० जनालाई जबरजस्ती करणी उद्योगमा पक्राउ परेको छ ।
श्रावणमा ४, भदौमा ३, असोजमा ७ र कात्तिकमा ५ महिला तथा बालबालिका बलात्कृत भएका छन् भने साउन र भदौमा २–२ महिलामाथि जबरजस्ती करणी उद्योगमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका महिला सेल प्रमुख उमा गुरुङले जानकारी दिईन । बलात्कारका आरोपमा केही घटनाहरु आफन्तैबाट पनि भएको उनले बताईन् । प्रायः १० वर्षदेखि ३५ वर्ष उमेर समूहका महिला तथा बालबालिका बलात्कृत भएको महिला सेल प्रमुख गुरुङले बताईन् ।
यस्तै गत आर्थिक वर्षमा ४५ महिला तथा बालबालिका बलात्कृत भएका छन भने १६ जना विरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्धा चलाईएको थियो ।









