उदयपुर । भूमि सम्बन्धि समस्या समाधान आयोगले उदयपुर सहित प्रदेश १ का ९ जिल्लाका ३० वटा स्थानीय तहका एक लाख नागरिकलाई लालपूर्जा वितरण गर्ने प्रक्रिया अगाडी बढाएको छ । आयोगले सोमबार प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा ३० स्थानीय तहका प्रमुखसँग कार्य सम्पादन सम्झौता गर्दै एक लाख घरपरिवार भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी नागरिकलाई लालपूर्जा उपलब्ध गराउने प्रक्रिया अगाडी बढाएको हो । 
उदयपुरको आठ स्थानीय तहमध्ये पाँच स्थानीय तहका ५७ हजार ६ सय ६६ घर परिवार भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी नागरिकलाई लालपुर्जा वितरण गर्ने छन् । जिल्लाको आठ पालिका मध्ये कटारी, त्रियुगा, बेलका, चौदण्डीगढी नगरपालिका र उदयपुरगढी गाउँपालिकाका ५७ हजार ६ सय ६६ नागरिकलाई लालपुर्जा वितरण गर्ने छन् ।
उदयपुरमा दलित भूमिहिन ९ हजार ७ सय ४५ घर परिवार, भूमिहिन सुकुम्बासी १३ हजार ८ सय ५८, अव्यवस्थीत बसोबास ३१ हजार ६ सय ९४ गरी ५७ हजार ६ सय ६६ घर परिवारका नागरिकलाई लालपुर्जा वितरण कार्य आधिकारिक रुपमा शुरु भएको छ ।
कटारी नगरपालिकाका १० हजार २ सय ९५ घर परिवार भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी नागरिकलाई लालपुर्जा वितरणको लागि सम्झौता गरिएको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ (काजी) ले जानकारी दिए । कटारीमा ७ सय ८० घर परिवार दलित भूमिहिन, एक हजार नौ सय ९० भूमिहिन सुकुम्बासी र ७ हजार ५ सय २५ अव्यवस्थित बसोबास घरपरिवार रहेको मेयर श्रेष्ठले बताए । नागरिकलाई भूमिको स्वामित्व दिलाउने बाचासहित निर्वाचित भएकाहरुले आफ्नो प्रतिवद्धता कार्यन्वयन गर्ने समय आएको मेयर श्रेष्ठले बताए । उनका अनुसार अव चाँडै नै भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन प्रक्रिया अगाडी बढाउने बताए ।
त्रियुगा नगरपालिकाका १८ हजार ४०२ घर परिवार भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी नागरिकले लालपुर्जा पाउने मेयर बलदेव चौधरीले जानकारी दिए । त्रियुगा नगरपालिकामा ५ हजार ९ सय ७२ घर परिवार भूमिहिन दलित, ७ हजार ६ सय ५५ भूमिहिन सुकुम्बासी र ४ हजार ७ सय ७५ अव्यवस्थित बसोबास गर्नेको घर परिवार रहेको मेयर चौधरीले बताए । उनका अनुसार नगरपालिकामा भूमिहिन र अव्यवस्थित बसोबासको लगत संकलन पनि जारी रहेको जनाएको छ ।
यस्तै विगत २०२८ सालदेखि भोगचलन गर्दै आएको जमिनको निस्सा अर्थात लालपुर्जा पनि त्रियुगा नगरपालिकामा वितरण शुरु गरिएको मेयर चौधरीले बताए । त्रियुगा नगरपालिका १३ हवाईफिल्ड स्थित १ नं. नापी टोलीले गाउँ ब्लकको जग्गा लालपुर्जा वितरण गरेको हो ।
बेलका नगरपालिकाका १० हजार ८ सय ४३ घर परिवार भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी नागरिकलाई लालपुर्जा पाउने छन् । जसमा २ सय दलित भूमिहिन, ५ सय भूमिहिन सुकुम्बासी र १० हजार १ सय ४३ अव्यवस्थित बसोबासी नागरिकले लालपुर्जा पाउने छन् ।
चौदण्डीगढी नगरपालिकाका ११ हजार १ सय २६ घर परिवार भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी नागरिकले लालपुर्जा पाउने भएका छन् । जसमा १ हजार ८ सय ९३ भुमिहिन दलित, २ हजार १ सय १३ भूमिहिन सुकुम्बासी र ६ हजार ७ सय ५१ अव्यवस्थित बसोबासी नागरिकले लालपुर्जा पाउने छन् ।
उदयपुरगढी गाउँपालिकाका ७ हजार घर परिवार भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी नागरिकले लालपुर्जा पाउने छन् । जसमा ९ सय दलित भूमिहिन, १ हजार ६ सय भुमिहिन सुकुम्बासी र २ हजार ५ सय अव्यवस्थित बसोबासी नागरिकले लालपुर्जा पाउने छन् ।
पालिकाहरुले सम्झौता गरेको मितिले तीन महिना आगामी फागुनसम्ममा लगत संकलन गरिसक्नु पर्नेछ । लगत संकलनका लागि पालिकाले नागरिकको घरमै पुगेर फारम भराउनु पर्नेछ । आयोगले पालिकाहरुलाई दुई प्रकारको फारम पठाउने छ । अव्यवस्थित बसोबासीलाई सेतो र भूमिहिन दलित तथा सुकुम्बासीलाई गुलाबी रंगको फारम पालिकाले भराउने छन् । फारम भराईसकेपछि फागुनसम्ममा लगत संकलन, पहिचान र प्रमाणीकरण प्रतिवेदन आयोगमा पालिकाले बुझाउनु पर्नेछ ।









