उदयपुर । उदयपुरको कटारी नगरपालिका ८ मर्जेतपुर स्थित भान्टाबारीमा रहेको सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा विहिबार राति अज्ञात समुहले ४ वटा शक्तिशाली बम विस्फोट गराएको छ । चार जनाको समूहमा आएका अपरिचित व्यक्तिले ४ वटा बम विस्फोट गराउनुको साथै दुई वटा शंकास्पद बस्तु समेत छोडेर भागेका थिए ।
सिमेन्ट खानीको एक स्काईभेटरको चेनमा र खाली चौरमा प्लास्टिकले बेरेको टेप लगाएको शंकास्पद बस्तु एक–एक वटा समेत फेला परेको छ । शंकास्पद बस्तुको यकिन गर्न नेपाली सेना रण शार्दुल गण बोक्से अन्तर्गत बेलस्रोत ब्यारेकको बम डिस्पोजल टोली घटनास्थल पुगि सकेको प्रहरीले जनाएको छ ।
यस्तै बम विस्फोट हुँदा भाग्ने क्रममा ५ जना खानीमा काम गर्ने कामदार सामान्य घाइते भएका छन । घाइते हुनेहरुमा कटारी नगरपालिका वडा नं. ७ बस्ने २३ वर्षिय नवीन मगर, कटारी नपा ८ बस्ने २४ वर्षिय विष्णु बहादुर मगर, उदयपुरगढी गाउँपालिका २ बस्ने २७ वर्षिय दुर्गा बहादुर तामाङ, मकवानपुर भिमफेदी गाउँपालिका ९ बस्ने ३० वर्षिय सागर मोक्तान र शिवशक्ति मोक्तान रहेको छ । उनी सवैको खुट्टामा सामान्य चोट लागेको छ ।
विष्फोट भएका बेला खानीमा मजदुरहरु रहेका थिए । बम विष्फोट गर्ने योजनासहित आएको सामूहले सुरुमा मजदुरहरुलाई दुव्र्यवहार र गालीगलौज समेत गरेको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए । उनका अनुसार मजदुरलाई गालीगौलज गरेपछि लगातार चार वटा बम विष्फोट गराएर उक्त समूह फरार भएको खुलेको छ ।यस्तै विस्फोटबाट नम्बर नखुलेको मोटर साइकल, बा २ क ७९९२ नम्बरको स्काईभेटरमा पेट्रोल छर्की आगो लगाएका छन भने नम्बर नखुलेको स्काई भेटर तोडफोडले सिसा फुटाएर करिव १५ लाख बढीको क्षति पुर्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएकोछ । घट्ना कुन समुहले घटाएको भन्न खुल्न नसकेको, खोजी तलासी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जानकारी दिए ।
यस्तै विष्फोटको अनुसन्धान गर्न र त्यसमा संलग्नलाई पहिचान एवं पक्राउ गर्न प्रदेश प्रहरी कार्यालय विराटनगरबाट विशेष टोली पनि परिचालन गरिएको प्रहरीले जनाएको छ ।

सौर्य सिमेन्टको खानीमा शक्तिशाली बम विस्फोट समाचार पढ्नको लागि यहाँ क्लिक गर्नुहोस् ।

तपाईको प्रतिक्रिया