उदयपुर । उदयपुरमा शिकारीले छोडेको भरुवा बन्दुक पड्किएर बुधबार राति एक वन रक्षकको घटनास्थलमै मृत्यु भएको छ । डिभिजन वन कार्यालय गाईघाट अन्तर्गत सव डिभिजन कार्यालय तपेश्वरीमा कार्यरत वन रक्षक सुनसरी दुहवी घर भएका ४६ वर्षिय लेखनाथ वास्तोलाको घटनास्थलमै मृत्यु भएको हो ।
डिभिजन वन कार्यालय गाईघाट र सव डिभिजन कार्यालय तपेश्वरीको संयुक्त गस्ती टोलीले बेलका नगरपालिका वडा नं. १ को बुलबुले भवरा सामुदायिक वन उपभोक्ता समूहको जंगल अन्तर्गत बगहा खोलामा शिकारीले छोडेको भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जानकारी दिए । उनका अनुसार वनमा फेला परेको भरुवा बन्दुक बन कार्यालय ल्याउने क्रममा गाडीबाट झिक्नेक्रममा राति अन्दाजी ९ः४५ बजे पड्किएको एसपी दाहालले जानकारी दिए । भरुवा बन्दुकको छर्रा मृतकको छातीमै लागेकोले घटनास्थलमै मृत्यु भएको हो ।
घटना लगतै बन्दुक कस्तो अवस्थामा फेला परेको भन्ने बारेमा विस्तृतमा अनुसन्धान थालिएको एसपी दाहालले बताए । बन्दुक कसले छाडेको हो भन्ने बारेमा एकिन हुन बाँकी रहेको प्रहरीले जानकारी दिए ।
वन्य जन्तुको चोरी शिकारी गर्ने समूह जंगल पसेको र वन रक्षक गस्तीमा आएको चाल पाएर बन्दुक त्यहीँ फालेर भागेको हुन सक्ने डिभिजन वन कार्यालय उदयपुरका सहायक वन अधिकृत तथा सूचना अधिकारी जागेश्वर साहले जानकारी दिए । उनका अनुसार गस्ती टोलीलाई देखेर शिकारीले छाडेको बन्दुक बारुद भरिएको अवस्थामा थियो ।
वनकै गाडीमा राखेर ल्याइएको बन्दुक अचानक पड्किएको साहले जानकारी दिए । कोशी टप्पु वन्य जस्तु आरक्षणको बँदेल, जरायो, अर्ना लगायतका जनावरहरु नजिकैको राष्ट्रिय र सामुदायिक वनमा आउने जाने गरेकोले स्थानीयहरु शिकार गर्ने गरेको सूचना अधिकारी साहले बताए । विगतका दिनहरुमा पनि राष्ट्रिय र सामुदायिक वनमा शिकारीहरु शिकार खेल्न जाने गरेको सूचना पाएपछि गस्ती टोली परिचालन गर्दै आएको साहले बताए ।

तपाईको प्रतिक्रिया