उदयपुर । थारु समुदायले निर्माण गरेको थारु संग्रहालयको प्रचार प्रसार गर्न सके बेलका नगरपालिका भित्र पर्यटकको कमि हुने छैन् । उदयपुरको बेलका नगरपालिका वडा नं. २ स्थित बेल्हामा थारु संग्रहालयको उद्घाटनको क्रममा प्रदेश नं. १ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री बिजय कुमार विश्वासले सो कुरा बताए ।
बेलकाको बेलहामा पर्यटन आउने प्रचुर सम्भावना रहेको मन्त्री विश्वासले बताए । चितवन, नवलपरासी, बर्दिया, इलामको श्रीअन्तु त्यस ठाउँहरुका उदाहरण दिदै  एउटा मात्रै दृश्यावलोकन हेर्न सकिन्छ तर, यहाँ कोशी टप्पु बन्य जन्तु आरक्षमा अर्ना, मृग लगायत विभिन्न थरीका चरा हेर्न सकिने, बेलकातरी राजारानीको भगनावशेष, नेपालकै सवै भन्दा ठूलो नदी कोशीमा र्याफटिङको सम्भावना, मैनामैनीमा क्यानोनिङ गर्न सकिने झरना लगायतका २२ वटा पर्यटकको दृश्यावलोकनको ठाउँहरु मध्ये थारु संग्रहालयको विकास गर्न सके थप पर्यटक भित्राउनमा मद्धत गर्न सकिने मन्त्री विश्वासले बताए । बेलका नगरपालिका पर्यटक भित्र्याउने प्रचुर सम्भावना रहेको मन्त्री विश्वासले बताए ।
थारु जातिको अधिकारको लागि थारु संग्रहालय एउटा कोशे ढुंगा सावित हुने बताए । उनका अनुसार थारु संग्रहालयले भावी पिढीको इतिहास बन्ने छ । संघिय गणतन्त्र प्राप्तीको लागि थारुको अहम भूमिका रहेको र थारु आदिम कालदेखि तराई क्षेत्रमा बसोबास गर्दै आएको बताए । थारु संग्रहालयमा पूर्वदेखि पश्चिमसम्मका थारु जातिको पहिचान, कला सस्कृति, झल्काउने कला संस्कृति रहेका छन’,मन्त्री बिस्वासले भने,‘यसले थारु जातिको जन्मदेखि मृत्यु संस्कारसम्मको परम्परालाई अध्ययन गर्न चाहने व्यक्तिहरुलाई समेत सहयोग पु¥याउनेछ ।’
मन्त्री विश्वासले बेलहामा थारु संग्रहालय र थारु होमस्टे छ भन्ने मलाई थाह थिएन । यस मन्त्रालयमा गत वर्ष थारु होमस्टेको बजेज विनियोजन भएपनि फ्रिज भएर गएपनि चालु आर्थिक वर्षमा केही रकम विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले थारुहरु राजनीतिमा पछि परेकोले मुलधारको राजनीतिमा आउन आग्रह गरेका छन् । राजनीतिमा आएमात्रै थारु जातिको उत्थान हुने बताए ।
यस्तै उदयपुर र सुनसरीको सिमाना मतभेद रहेपनि यसको हलको लागि प्रदेश सरकार र संघीय सरकारमा छलफल गरिने मन्त्री विश्वासले बताए ।
यस्तै संग्रहालय बनाउन जग्गा दान गर्ने जग्गा दाता मिश्रीकान्त चौधरीलाई प्रमुख अतिथि विश्वासले दोसल्लाह ओढाएर सम्मान गरेको थियो ।
मिश्रीकान्त चौधरीले दान दिएको ६ धुर जग्गामा निर्माण गरिएको संग्रहालय भवन बनाउन गाउँलेहरुले ३६ हजार रुपैयाँ चन्दा उठाएर शुरु गरिएको थियो । संग्रहालयका लागि पूर्व सभासद शान्ती देवी चौधरीको संसदिय विकास कोषबाट ५० हजार, शहरी विकास कार्यलयबाट १ लाख, बेलका नगरपालिका वडा नं. २ बाट १ लाख ५० हजार, बेलका नगरपालिका नगर स्तरिय थारु उत्थान विकास समितिबाट दुई पटक गरि ९ लाख प्रदेश सदस्य बिमल कार्कीको संसदीय विकास कोषबाट ४ लाख ९३ हजार, बेलका पर्यटन विकासबाट ५० हजार गरी १७ लाख ७९ हजारको लागतमा दुई तल्ले भवन निर्माण भएको हो ।
थारु संग्रहालय उद्घाटन कार्यक्रममा विशेष अतिथिहरु प्रदेश सांसद विमल कार्की, अम्विका थापा र सुनिता चौधरी, बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापा, त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, सप्तकोशी नगरपालिकाका मेयर उत्तम गौतम लगायतले संग्राहलय शुभारम्भ भएकोमा शुभकामना दिएका थिए । यस्तै त्रियुगा नगरपालिका उपमेयर देवी कुमारी चौधरी, बेलका नगरपालिकाका उपमेयर राजकुमारी चौधरी, सप्तकोशी नगरपालिकाका उपमेयर रामकुमारी चौधरीको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता थारु उत्थान विकास मञ्चका अध्यक्ष हरिनारायण चौधरीको रहेको थियो भने संचालन नन्दीलाल चौधरीले गरेका थिए ।

तपाईको प्रतिक्रिया