उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका ५ रुपाटारमा अज्ञात समूहले पालिका केन्द्रको गेटमा राखेको बम सेनाले डिस्पोज गराएको छ । अज्ञात समूहले आइताबार विहान १ः३० बजे एउटा बम पालिका भवनमा विस्फोट गराएका थिए भने अर्को कार्यालयको गेटमा विस्फोट नभई त्यसै बसेको बमलाई नेपाली सेनाले डिस्पोजल गराएको छ ।

ताप्ली गाउँपालिकाको कार्यालय गेटमा विस्फोट नभएको सुतली बम । तस्विर : मिलन तामाङको फेसबुकबाट

उदयपुरमा रहेको नेपाली सेनाको रण शार्दुल गण बोक्सेको बम डिस्पोजल टोलीले आइतबार साँझ करिव ६ः३० बजे डिस्पोज गराएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख (एसपी) भिमबहादुर दाहालले जानकारी दिए ।

आइतबार अज्ञात समूहले राखेको बम शक्तिशाली नभई सुतली रहेको सेनाले जनाएको छ । गाउँपालिका कार्यालयलाई लक्षित गरी राखिएको बम एउटा विस्फोट भएका थिए भने कार्यालय गेटमा रहेको बम विस्फोट हुन बाँकी रहेको थियो ।

बम कसले राखेको भन्ने विषयमा प्रहरीले अनुसन्धान समेत थालेको जनाइएको छ । बम विस्फोटको कसैले जिम्मा नलिएकोले अज्ञात नै रहेको एसपी दाहालले जानकारी दिए ।

ताप्ली गाउँपालिकाको कार्यालय भित्र रहेको नागरिक सहायता कक्षमा बम विस्फोटले क्षति। तस्विर : मिलन तामाङको फेसबुकबाट

अज्ञात समुहले विस्फोट गराएको बलले नागरिक सहायता कक्षमा क्षति पुग्नुको साथै प्रमुख प्रशासकिय अधिकृत, लेखा अधिकृत, उपाध्यक्षको कार्यकक्षमा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष उद्धव सिंह थापाले जानकारी दिए । बम विस्फोटले ती कार्यकक्षको ढोका, झ्याल, कम्प्युटर, प्रिन्टर, टेबल, दराज, सोफा लगायतका सामानमा क्षति भएको थियो ।

बम विस्फोटन कसले र किन गराएको भन्ने आफू अनभिज्ञ रहेको गाउँपालिका प्रमुख थापाले बताए । अहिलेसम्म कुनै समूह, व्यक्ति, संस्थाबाट कसैले कुनै किसिमको चन्दा, धाम्की केही नदिएको थापाले बताए ।

गाउँपालिकाको आफ्नै कार्यालय नहुँदा पालिका केन्द्र महेन्द्र रत्न माध्यमिक विद्यालयको भवनमा भाडामा संचालनमा रहेको छ ।
सम्बन्धित समाचार

उदयपुरको ताप्ली गाउँपालिका कार्यालय भवनमा बम विस्फोट

तपाईको प्रतिक्रिया