राजेन्द्र महतो, लहान । सिरहाको लहान नगरपालिका ३ लहान स्थित डिभाईन हेल्थ केयर अस्पतालको चरम लापरबाहीका कारण एक सुत्केरीको मृत्यु भएको छ । जिल्लाको सुखिपुर नगरपालिका ९ बैशखाका प्रमोद साहको २७ वर्षिय श्रीमती आरती साहको शनिबार राति सुत्केरी गराउन शल्यक्रिया गर्दा गर्दै मृत्यु भएको प्रहरीले जनाएको छ ।
गर्भवती महिलालाई डिभाइन हेल्थ केयर अस्पतालमा शनिबार दिउँसो ४ बजे भर्ना गरिएको थियो । राति शल्यक्रिया गर्दा गर्दै मृत्यु भएको परिवारिक स्रोतले जनाएको छ ।
शल्यक्रियापछि जन्मिएको शिशुको अवस्था भने सामान्य छ । शिशुलाई अहिले अर्को अस्पतालमा सारिएको बताइएको छ । अस्पतालमा भर्ना भएको बेला आरती तन्दुरुस्त रहेको परिवारिक स्रोतले जनाएको छ । शल्यक्रिया पछि मृत्यु भएपछि मृतकका आफन्तहरु आक्रोशित भइ रातीदेखि नै प्रदर्शनमा उत्रिएका थिए । आफ्न्तहरुले अस्पतालमा तोडफोड गर्नुका साथै दोषी डाक्टर माथि कडा कार्यवाहीका माग गर्दै अस्पतालमा धर्ना दिएका छन् ।
मृतकका आफन्तहरु डिभाईन अस्पताल मौतको कुँवा भन्दै प्रदर्शन गरेका छन । सम्भावित क्षति रोक्न प्रशासनले अस्पताल अगाडि सयौंको संख्यामा सुरक्षाकर्मी तैनाथ गरेका छन । अप्रेशनमा सामेल भएका सबै डाक्टर, नर्सहरु अहिले फरार रहेको ईलाका प्रहरी कार्यालय लाहानका ईन्चार्ज डिएसपी शरत थापाले जानकारी दिए ।
यस्तै घटना छानविनका लागि प्रमुख जिल्ला अधिकारी प्रदीप राज कणेलद्वारा समिति गठन गरेको छ । पीडितहरुको जाहेरीको आधारमा कार्यवाही प्रक्रिया अगाडि बढाउने सिडियो कणेलले जानकारी दिए ।









